हिन्दु राष्ट्रसहितको राजसंस्था अबको आवश्यकता : कमल थापा

चितवन, ११ माघ ।
पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई वर्तमान अवस्थाबाट बचाउन तथा अगाडि बढाउनका लागि हिन्दु राष्ट्र र राज संस्था आवश्यक रहेको बताएका छन् । चितवनको भरतपुरमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नयाँ नेपाल निर्माण गर्ने नाममा हिन्दु राष्ट्र र राज संस्थालाई पाखा लगाउँदा अहिलेको अवस्था उत्पन्न भएको बताएका हुन् ।

“नेपाललाई बचाउने र अगाडि बढाउने हो भने हामीले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने आवश्यकता छ ।” थापाले भने, “सबै धर्मलाई बराबरीको स्वतन्त्रता सबैलाई समानता कायम गर्ने, सम्मान गर्ने नेपालको राष्ट्रिय पहिचान र एकताको आधारको रुपमा सनातन धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने आवश्यकता छ ।” यसैगरी यदी नेपालमा दिगो शान्ति र स्थायित्व कायम गर्ने हो भने प्रजातन्त्रलाई बलियो बनाउने हो भने विदेशीको चलखेललाई हटाएर राष्ट्रियतालाई बलियो बनाउने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था सहितको लोकतन्त्र नै उपयुक्त हुन्छ भन्ने कुरा अब प्रमाणित भइसकेको थापाले बताए ।

६२/६३ को आन्दोलनबाट लिएको बाटो ठीक थिएन भने अहिलेको अवस्थाबाट प्रष्ट भइसकेको थापाले बताए । “आन्दोलनले लिएको बाटो पछ्याउँदा हामी फरक स्थानमा पुगेका छौँ” थापाले भने, “जसका कारण मुलुकमा विदेशी शक्तिको चलखेल बढ्दै गइरहेको छ, यसलाई रोक्नुपर्ने अहिलेको अपरिहार्य आवश्यकता हो ।” सनातन हिन्दु राष्ट्र र राजसंस्था कायम गर्न सकेको अवस्थामा अहिलेको समस्या समाधान हुने थापाले ठोकुवा गरे ।

अब राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताको मन र विश्वास जित्नको लागि उनीहरूको घरमा जानुपर्ने समय आएको थापाले बताए । परिवर्तनको १४ वर्षमा काँग्रेस र कम्युनिष्टले नेतृत्व गरेपनि जनताको अवस्था नसुध्रिएको भन्दै अध्यक्ष थापाले अब जनताले राप्रपालाई अवसर दिने बताए । परिवर्तित अवस्थामा काँग्रेस र कम्युनिष्टको विकल्प राप्रपाले मात्रै दिनसक्ने थापाले बताए ।