प्रधानमन्त्री ओलीले भरतपुरमा सम्बोधन गर्ने

चितवन, ११ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चितवनको भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने माघ १७ गते भरतपुर आउँदैछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आइतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओली सहभागी हुने कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा जिल्ला कार्यालय संयोजक पार्वती रावलले भरतपुरमा निर्माणाधीन सिटी हल र नारायणगढ–गोन्द्राङ सडक विस्तार शिलान्यास तथा जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका जानकारी दिइन् । सो कार्यक्रममा सहभागिता भइदिनका लागि रावलले आम जिल्लावासीसँग अनुरोध गरेकी छिन् ।
भरतपुरमा चार बिघा चार कठ्ठा क्षेत्रफलमा बन्न लागेको सिटी हल शहरी विकास मन्त्रालयको ८७ करोड ८८ लाख रुपैयाँ बजेटमा निर्माण भइरेको छ । त्यस्तै नारायणगढ गोन्द्राङ ६ लेन सडक विस्तार आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक अर्ब १२ करोड रुपैयाँ बजेटबाट निर्माण हुँदैछ । सो कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री केपी ओलीसहित गृहमन्त्री रामबहादुर थापा, शहरी विकास मन्त्री प्रभु शाह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ चितवन आउँदैछन् ।
सिटी हल र सडक शिलान्यासपछि प्रधानमन्त्री ओलीसहितका नेताले भरतपुरको केन्द्रीय बस टर्मिनमा हुने सभालाई सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो सभा माघ १७ गते दिउँसो १२ः१५ बजे हुने रावलले बताइन् ।
भरतपुरमा निर्माणाधीन सिटी हल र ६लेनको सडक शिलान्यासका लागि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड आउने तयारी भइरहेको भए पनि प्रचण्ड सडक आन्दोलनमा गएपछि ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको रावलको भनाइ छ । चितवनलाई प्रचण्डको निर्वाचन क्षेत्रसँग जोडेर यहाँ बन्न लागेको सिटी हल र सडक विस्तारको काम शिलान्यास गर्नुलाई दुवै पक्षले आफ्नो प्रतिष्ठाको रुपमा लिएका छन् ।
पत्रकार सम्मेलनमा रावलले प्रतिष्ठाको लडाइँ भन्दा पनि विकास निर्माणको कामलाई समयमा नै सम्पन्न गराउनका लागि प्रधानमन्त्रीको चासो भएको बताइन् ।