माडीको विकासले गति लिन्छ : सभापति रावल

चितवन, ११ माघ ।
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवादका कारण चितवनको माडी क्षेत्रको विकासका काम रोकिएको भन्ने हल्ला निराधार भएको बताएकी छिन् ।
आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा नेतृ समेत रहेकी रावलले सरकारलाई बदनाम गराउने खेल सुरु भएको बताएकी हुन् । ‘माडी क्षेत्रमा विकासका काम रोकिएको भन्ने मैले पनि सुनेकी छु’ रावलले भनिन्, ‘यस विषयमा मैले पनि जानकारी मागेकी छु ।’ सरकारले विकासको कामलाई तीव्र रुपमा अगाडि बढाउन निर्देशन दिएको बेलामा प्रचण्ड र प्रधानमन्त्रीको विवादका कारण विकासका काम नरोकिने रावलले बताएकी हुन् ।
माडीको अधिकांश क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले समेत कतिपय अध्ययनहरु पूरा नभएका कारण निर्माणका काम रोकिएका हुनसक्ने रावलको भनाइ छ । माडी क्षेत्रमा निर्माणाधीन पुलहरुले गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण (आई.ई.ई.) लगायतका कामहरु पूरा नभएकाले काम रोकिएका हुनसक्ने भन्दै रावलले ती परीक्षणहरु तत्काल गरेर काम अगाडि बढाउन निर्देशन दिने बताइन् ।
‘माडीका जनतालाई वन ऐनका कारण समस्या परेको जानकारीमा आएपछि यो सरकारले पुरानो वन ऐन नै परिवर्तन गर्न लागिपरेको अवस्थामा विकासका काम कसरी रोक्न सक्छ ?’ रावलले प्रश्न गरिन् । विकास निर्माणमा गर्नुपर्ने प्राविधिक कामहरु गर्नका लागि समेत निर्माण पक्षलाई निर्देशन दिने भन्दै निकुञ्जसँग थप कुराहरु बुझ्ने काम भइरहेको रावलले बताइन् ।