आर्थिक पारदर्शीता कायम गर्दै ट्राफिक प्रहरी, प्रलोभनमा पार्ने १५ सय बढी चालकलाई कारबाही

चितवन, ११ माघ ।
ट्राफिक प्रहरीबाट सम्पादन हुने काम कारबाहीमा आर्थिक पारदर्शीता कायम गर्ने अभियानले सार्थकता पाउँदै गएको छ । वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको अभियान अन्तर्गत पछिल्लो चार महिनामा १ हजार ५ सय ३८ चालक कारबाहीमा परेका छन् ।
ट्राफिक नियम उल्लङ्घन गरेवापत हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्नेहरुलाई कारबाही गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । प्रलोभन स्वरुप ट्राफिक प्रहरीलाई दिन खोजिएको २ लाख ६१ हजार ४२३ रुपैैयाँ फिर्ता गरिएको र उनीहरुलाई कारबाही रुवरुप १६ लाख २१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको कोइरालाले बताए ।
सवारी चालकहरुले नियम अनुसार हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई अर्थिक प्रलोभनमा पार्दै आएका थिए । वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक कोइराला आएदेखि उनले आन्तरिक शुद्धिकरण र ट्राफिक प्रहरीबाट सम्पादन हुने काम कारबाहीमा आर्थिक पारदर्शीता कायम गर्ने अभियान कडाइका साथ चलाउँदै आएका छन् । यस अर्थिक वर्ष २०७७/७८ मा मात्रै १३ जनालाई विभागीय कारबाही गरेको र राम्रो काम गर्ने ५२ जनालाई पुरस्कृत गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।