नवलपुरमा अपाङ्गता सर्वेक्षण सुरु

नवलपुर, ११ माघ ।
नवलपरासी (बर्दघाट–सुस्तपूर्व)मा भएका सबै स्थानीय तहमा अपाङ्गता पहिचान सर्वेक्षण सुरु भएको छ । कोपिला नेपाल संस्थाले सुरु गरेको सर्वेक्षण चैत १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
अपाङ्गता पहिचान सर्वेक्षण गर्न हरेक स्थानीय तहमा ५ जना स्वयंसेवक खटिने छन् । कोपिला नेपाल संस्थाले सन् २०२० को नोभेम्बरदेखि अपाङ्ता भएकाको लागि समावेशीकरण परियोजना सुरु गरेको छ । यो परियोजना ३८ महिना चल्नेछ ।
कोपिला नेपालको नवलपुरका स्थानीय संयोजक सागरमणी ढुङ्गानाले परियोजनालाई सफल बनाउन सर्वेक्षणले सघाउने बताए । सर्वेक्षणको प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई बुझाइने उनको भनाइ छ । सर्वेक्षणले अपाङ्गता भएका व्यक्तिको ठेगाना, पारिवारिक स्थिति, आवश्यकता लगायतका सूचना एकीकृत गर्ने ढुङ्गानाले बताए ।
नवलपुरका ४ नगरपालिका र ४ गाउँपालिकामा कोपिला नेपालले अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई लक्षित गरि परियोजना चलाएको छ । हरेक स्थानीय तहमा एक सामुदायिक सहजकर्ता छन् । सर्वेक्षणकै आधारमा स्थानीय सरकारलाई नीति तथा कार्यक्रम बनाउन पनि सहयोग पुग्ने ढुङ्गानाले बताए ।