चितवनमा दुर्घटनाः ४० दिनमा १९ जनाको मृत्यु

चितवन, ११ माघ ।
चितवनमा पछिल्लो ४० दिनमा सवारी साधनबाट भएको दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लामा पुस महिनामा दुर्घटनामापरि १५ जनाको मृत्यु भएको थियो भने माघ १० गतेसम्म चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी पुसमा ३७ जना गम्भीर र २२ जना सामान्य घाइते भएका थिए । त्यस्तै, माघको १० गतेसम्म आठ जना गम्भीर घाइते हुँदा १४ जना सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टकाअनुसार चितवनमा पुस महिनामा ४५ तथा माघमा चार वटा दुर्घटना भएका छन् ।
त्यस्तै, यस अवधिमा ट्राफिक प्रहरीले सात हजार २०० सवारी साधनलाई कारबाही गरेको छ । भट्टकाअनुसार ट्राफिक प्रहरीले चितवनमा पुसमा पाँच हजार ५०० सवारी साधनलाई कारबाही गरेको थियो । सो कारबाहीबाट ४४ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको भट्टले जानकारी दिए ।
माघ महिनामा जिल्लामा एक हजार सात सय सवारी साधनलाई कारबाही गरिएको भन्दै भट्टले सो कारबाहीबाट १४ लाख एक हजार ५०० रुपैयाँ राजस्व संकलन भएको बताए । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई कारबाही सँगै सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको भट्टले बताए ।