मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल चैत १३ गते

चितवन, ११ चैत ।
तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अन्तिम प्रतिस्पर्धा यही चैत १३ गते शुक्रबार चितवनमा हुने भएको छ । वाईएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको फाइनल प्रतिस्पर्धा खैरहनी नगरपालिकास्थित डिज्नी पार्क रिसोर्टमा हुने जनाइएको छ ।
बुधबार खैरहनीमा पत्रकार सम्मेलन गर्दै जह इन्टरटेनमेन्टका निर्देशक रुपेश चौधरीले फाइनल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । यसअिघ देशका विभिन्न सहरहरुमा अडिसन भएको थियो । अडिसनबाट फाइनल प्रतियोगिताका लागि मिस्टर थारुतर्फ १५ र मिस थारुतर्फ १७ जना प्रतियोगीहरु छनौट भएका छन् ।
उनीहरु सबै चितवन आइसकेको चौधरीले बताउनुभयो । यस प्रतियोगिताको विजेता भोटिङ र निर्णायकहरुको निर्णयको आधारमा गरिने उहाँले बताउनुभयो । सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’समेत प्राप्त गर्ने वाईएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले बताउनुभयो ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, फस्ट रनरअपले ३० हजार रुपैयाँ, सेकेण्ड रनरअपले २० हजार रुपैयाँ र विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । फाइनलका प्रतियोगीहरुलाई काठमाडौँमा करिव एक महिनासम्म विभिन्न किसिमका प्रशिक्षणहरु प्रदान गरिएको चौधरीको भनाइ छ । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी हुनुभएको थियो भने दोस्रो संस्करणको मिस्टर थारु रवीन चौधरी र मिस थारु आकृती चौधरी हुनुभएको थियो ।
नेपालको जनसङ्ख्यामध्ये चौथो स्थानमा रहेको थारु समुदाय विशेष गरी देशको तराई क्षेत्रमा आदिमकालदेखि स्थायी रुपमा बसोबास गर्दै आइरहेको छ । यही समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरुले सन् २०१७ देखि यस प्रतियोगिताको सुरुआत गरेका हुन् ।