रत्ननगरमा खोपमा मनपरी ,मेयरको परिवार देखी कांग्रेस प्रवक्तासम्मलाई खोप
चितवन, १० असार ।
कोभिड १९ विरुद्धको खोप मनपरी रुपमा पहुँचको आधारमा लगाएका छन् । रत्ननगरमा लक्षित समूह बाहेकलाई समेत पहुँच र शक्तिको आडमा खोप लगाइएको भेटिएको हो । सरकारले भेरोसिल खोप ६२ देखी ६४ बर्ष उमेर समूह ,पहिलो दोज लगाइसकेका र अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , पत्रकारलाई लगाउने जनाएको थियो । तर उक्त निर्देशनको खिल्ली उडाउदै लक्षित समूहमा नपरेकाले समेत खोप लगाएको खुलेको छ ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनको परिवारको सदस्यहरुले खोप लगाएको खुलासा भएको छ । मेयर वनका श्रीमती ५४ बर्षिय ज्वाला पुरी वन , उनको छोरा २१ बर्षिय सफल वन , २५ बर्षिय छोरी सुस्मिता वनले कर्मचारी भन्दै खोप लगाएको तथ्य समावेशी खबरले फेला पारेको छ ।
केहि राजनितिक दलका नेतृत्वहरुले समेत खोप लगाएका छन् । नेपाली कांग्रेस चितवनकी प्रवक्ता निता ढकालले पनि खोप लगाएकी छिन् ।
त्यस्तै उद्योग वाणिज्य संघका केहि पदाधिकारी र कर्मचारीले समेत खोप लगाएका छन् । पदाधिकारी मात्रै होइन केहिको त परिवारका अन्य सदस्यले समेत खोप लगाएको प्रमाण समावेशी खबरले पाएको छ । उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शंकर गिरीले आफूसँगै आफ्नो परिवारको सदस्यलाई समेत खोप लगाएका छन् ।
यस बिषयमा नगर प्रमुखसंग प्रतिक्रिया लिने प्रयास गर्दा सम्पर्क हुन सकेन ।