अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य श्रेष्ठ पक्राउ

चितवन, १२ माघ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्यनुनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले माघ ९ गते राति अखिल क्रान्तिकारीका सचिवालय सदस्य सम्राट भन्ने सुमन श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका–०१ घर भएर चितवनको भरतपुर–११ बस्दै आएका २४ वर्षीय श्रेष्ठ अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक समेत भएको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । विप्लवले गत माघ १० गते घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा समाजमा अफवाह फैलाइ भय एवं त्रास उत्पन्न गराउने उद्देश्यले उच्छृङ्खल गतिविधि गर्ने योजना बनाइरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको भट्टले बताए । प्रहरीले श्रेष्ठलाई भरतपुर–१० सप्तगण्डकी चोकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले चितवन जिल्ला अदालतबाट माघ ११ गते श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने म्याद पाएको छ । माघ ९ गतेदेखि लागू हुनेगरी सात दिनको म्याथ थप गरेर अनुसन्धान अगाडि बढाइएको भट्टले जानकारी दिए ।