नेपाली सेनाद्वारा महानगरलाई बहुउद्देश्यीय भवन हस्तान्तरण

चितवन, १२ माघ ।
नेपाली सेनाको बटुक दल गण कसराले निर्माण गरेको विपद् व्यवस्थापन बहुउद्देश्यीय भवन भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । सेनाले भरतपुर – २२ को गर्बेटाँडीमा निर्माण गरेको बहुउद्देश्यीय भवन सोमबार महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस बहुउद्देश्यीय भवनलाई बाढीपहिरो पीडितहरूको प्राथमिक उद्धारका साथै विविध आर्थिक सामाजिक विकासका लागि उपयोग गरिने बताइन् ।
बहुउद्देश्यीय भवन हस्तान्तरण कार्यक्रममा मध्य पृतना हेडक्वाटर हेटौँडाका पृतनापति ताराध्वज पाण्डेले नागरिकसँगको सहकार्यमा सैनिकले विगतदेखि उल्लेख्य काम गर्दै आएको बताए । नेपाली सेनाले राष्ट्रिय सुरक्षा, प्राकृतिक संरक्षण, विपत् व्यवस्थापन, राहत र उद्धारका साथै विकास निर्माणमा उल्लेख्य भूमिका खेलिरहेको पाण्डेले बताए । उनले बहुउद्देश्यीय भवन समुदायको हितमा उपयोग हुने विश्वास समेत व्यक्त गरेका छन् ।
भरतपुर महानगरपालिका वडा न २२ का वडाध्यक्ष बिष्णुराज महतोले नेपाली सेनाको बटुक दल गणले निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको यो बहुआयामिक हल विपत् व्यवस्थापनका साथै समुदायको हित र आयआर्जनको रूपमा उपयोग गर्ने बताए ।
कार्यक्रममा बटुक दल गणका गणपती अरूण श्रेष्ठले बहुउद्देश्यीय हल निर्माण र यसको उपयोगिता बारे जानकारी दिदै नेपाली सेना नागरिकको आर्थिक सामाजिक गतिविधि वृद्धिमा लागिरहेको बताए । नागरिक सैनिक सहकार्य र सम्बन्धलाई सुमधुर बनाउन यस्तै थप कामहरू अगाडि बढाइरहेको बताउदै उनले स्थानीय सरकारका प्रतिनिधिहरूसँग समन्वय र सहकार्य गरी १८ लाख रूपैयाँको लागतमा बहुउद्देश्यीय हल निर्माण गरिएको बताए ।