नेकपाले जनमतको अनादर गर्यो : नेता बस्नेत

चितवन, १३ फागुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेकपाले जनमतको अनादर गरेको बताएका छन् । नेकपाले सरकार चलाउन नसकेर कांग्रेसले चलाउ भन्दै नेकपाका नेताहरुले घरदैलो गरेको उनले आरोप लगाए ।
लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय समितिले बिहीबार भरतपुरमा आयोजना गरेको नेपाल तरुणदल तत्कालीन सभापति शिवप्रसाद पौडेल हत्याराको उन्मुक्ति, अराजकताको विरोध सभामा बोल्दै नेता बस्नेतले देशमा फेरी संवैधानिक संकट आउन सक्ने बताए । उनले अहिले कांग्रेस हचुवाका भरमा सरकारमा नजाने बताए । एकल महिलाले न्याय खोज्दा हत्यारालाई लाहछाप लगाएर किन छाडेको भनेर प्रतिप्रश्न गरे ।
नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेलको हत्यामा दोषी ठहर भई सजाय भोगिरेहका ३ जनालाई प्रजातन्त्र दिवसको अवसर पारेर आममाफी दिएपछि चर्को विरोध भएको छ । कम्युनिष्टको सरकार भएकै बेला जेलभित्रै हत्या गर्ने व्यक्तिहरुलाई कम्युनिष्ट सरकारलेनै उन्मुक्ति दिएको उनले आरोप लगाए । नेता बस्नेतले कांग्रेसलाई धेरै जिस्काए युवा, तरुण चुप नबस्ने चेतावनी दिए ।
स्वर्गीय मदन भण्डारीको हत्यारा पत्ता लगाउनसमेत बस्नेतले राष्ट्रपतिलाई सुझाव दिए । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले हत्या गर्ने व्यक्तिलाई पर्व उत्सवको अवसर पारे छुटकारा दिने काम रोकिनुपर्ने बताए । पूर्व राज्यमन्त्री शेषनाथ अधिकारीले सर्वस्व सहित जन्मकैद पाएका व्यक्तिलाई आधा पनि सजाय नभोग्दै सरकारले सत्ताको दुरुपयोग गरेर आममाफी दिएको आरोप लगाए ।
वाग्मती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले हत्याको सजाय भोगिरहेका व्यक्तिलाई सरकारले छुटकारा दिएर बदमासी गरेको बताए । कांग्रेस नेतृ तथा स्वर्गीय पौडेलकी धर्मपत्नी विनु रायमाझी पौडेलले जेलभित्रै षड्यन्त्रपूर्वक निर्मम आक्रमण गरी हत्या गर्नेलाई फेरी जेलमा थुनामा राख्न माग गरिन् । यसैबीच क्रिकेट संघ बागमती प्रदेशका कोषाध्यक्ष तथा क्रिकेटका प्रशिक्षक अनिल अधिकारीलाई सम्मान गरिएको छ ।
रक्तदान कार्यक्रममा १० महिला सहित ५१ जनाले रक्तदान गरेका थिए । संघका केन्द्रीय सदस्य वचन कार्कीले कार्यक्रममा स्वागत मन्तव्य राखेको कार्यक्रम केन्द्रीय महासचिव सुवोध प्रधानको अध्यक्षतामा भएको हो ।