चितवन जिल्लाका कार्यालयको समीक्षा

चितवन, १३ फागुन ।

जिल्ला समन्वय समिति चितवनको आयोजनामा बिहीबारदेखि वार्षिक प्रगती समीक्षा कार्यक्रम थालिएको छ । भरतपुर २९ मा भएको समीक्षा कार्यक्रममा शुक्रबारसम्म जिल्लाका सरकारी कार्यालयहरुले आफ्नो प्रगती प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यालयहरुमा आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष ०७७÷७८ को अर्धवार्षिक प्रगति समीक्षा हुने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । समीक्षा कार्यक्रमको राष्ट्रिय सभा सदस्य पार्वती रावलले उद्घाटन गरिन् । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाइ तीन वटै तहका विकास गतिविधिबारे समन्वय र अनुगमनको जिम्मा दिनुपर्ने बताइन् ।
पाँच÷दस लाख रुपैयाँका योजना माग गर्न पनि केन्द्र सरकारसँग धाउनुपर्ने अवस्था रहेको भन्दै उनले स्थानीय तहहरुलाई थप सशक्त बनाउन जरुरी रहेको बताइन् । स्थानीय तहहरुबीच समन्वयमा नीतिगत समस्याहरु रहेको भन्दै प्रमुख अतिथि रावलले सरकारले व्यववहारिक कानुनका पक्षमा ध्यान दिनुपर्ने बताइन् ।
जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले कोरोनाका कारण वार्षिक समीक्षा गर्न असहज भएकाले परिस्थिति सहज बन्दै गएपछि हाल समीक्षा कार्यक्रम राखिएको बताए । केही सरकारी कार्यालयको कार्यक्रमहरु जिल्ला समन्वय समितिसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले त्यसको नियमित अनुगमन गर्ने गरिएको प्रमुख डल्लाकोटीले बताए ।
पहिलो दिनको सत्रमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सडक विभाग, पुनःनिर्माण प्राधिकरणको शिक्षा, भवन र निजी आवास, वन कार्यालय, शिक्षा समन्वय इकाई, पूर्वाधार विकास कार्यालयलगायतले आफ्नो गत वर्षको वार्षिक एवं यस वर्षको अर्धवार्षिक नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति चितवनको उपप्रमुख मुना श्रेष्ठले समीक्षा कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गरेकी थिइन् । सरकारी कार्यालयहरुको स्वीकृत वार्षिक कार्यक्रमअनुसार गत आव ०७६/७७ वार्षिक प्रगति समीक्षा र चालु आव ०७७/७८ को अर्धवार्षिक समीक्षा विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले प्रस्तुत गरिरहेका छन् ।