अनुसी अटो ट्रेडर्सले ल्यायो बजाजको नयाँ अटो रिक्सा

चितवन, १३ फागुन ।
भरतपुर १२ केन्द्रीय बस टर्मिनल नजिकै रहेको अनुसी अटो ट्रेडर्सले बजारमा नयाँ अटो रिक्सा भित्र्याएको छ । बजाजको आरआई बीएस सिक्स मोडलको अटो रिक्साको बिहीबारदेखि बिक्री शुभारम्भ गरिएको हो ।
सो कार्यक्रममा चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष अमृत जोशीले अटो रिक्साले स्वरोजगार बढाएको बताए । चितवनमा अटो रिक्साहरुको वृद्धि भइरहेको भन्दै उनले अटो रिक्सा चालकहरु अनुशासित हुनुपर्ने बताए । अनुशासनमा कमी हुँदा केही महिना अगाडि महानगरले केही स्थानमा अटो सञ्चालनका लागि रोक लगाएको भन्दै उनले ट्राफिक नियम पालना गरेर सवारी साधन चलाएको अवस्थामा कसैले पनि उनीहरुलाई लखेट्न नसक्ने बताए ।
नयाँ मोडेलमा आएको बजाजको अटो रिक्साको माइलेज तथा इन्जिन क्षमता बढी भएकाले यसको बजारमाग बढ्ने जोशीको भनाइ छ । कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेड टाँडी शाखा प्रमुख सुमन कोइरालाले आफूहरुले न्यून फाइनान्समा गाडीहरुका लागि ऋण लगानी गर्ने गरेको बताए । १७१ वटा गाडीहरु फाइनान्स गरिएको भन्दै नागरिकलाई स्वरोजगार बनाउन आफूहरुको समेत दायित्व भएको उनको भनाइ छ ।
अनुसी अटो ट्रेडर्सले नपालमै पहिलो पटक बिहीबारदेखि बजाज आरई बीएस सिक्स अटोको बिक्री शुभारम्भ गरेको सञ्चालक होमनाथ पौडेलले बताए । उहाँले अटोको नयाँ ड्यास बोर्डमा एफएम तथा एफ पी थ्रि जडान गरिएको भन्दै धेरै नयाँ फिचरहरु समावेश भएको जानकारी दिए । यात्रुका लागि ढोका ठुलो तथा पछाड हेर्ने सिसा, ड्राइभरका लागि आराम फुट रेस्ट, गाडीमा हावा खेल्ने धेरै ठाउँ भएकाले समेत यसले चालकको मन जित्ने पौडेलको भनाइ छ ।
सो अटो रिक्साको सुरुआती मूल्य पाँच लाख ६४ हजार ९०० रुपैयाँ भएको भन्दै बिहीबार खरिद गरेका ग्राहकलाई नगद पाँच हजार रुपैयाँ छुट गरिएको पौडेलले बताए ।