जनगणनाका लागि जिल्लास्तरीय सचेतना गोष्ठी
चितवन, १२ चैत ।
आगामी जेठ २५ देखि असार ८ गतेसम्म हुने १२औँ राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र पारिएको छ । जनगणनाका लागि जिल्ला जनगणना कार्यालय चितवनले बिहीबार सरोकारवालाहरुसँग जिल्लास्तरीय सचेतना गोष्ठी गरेको छ ।
कार्यक्रममा जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले यसपटक मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ हुन लागेको बताउनुभयो । जनगणनाका लागि जिल्लामा जिल्ला जनगणना समन्वय समितिसहितका विभिन्न ५ वटा समिति बनाएर कामहरु अगाडि बढाइने भण्डारीले बताउनुभयो । गणनाको तयारीस्वरुप आगामी वैशाख १ गते जिल्लामा सात वटा स्थानीय जनगणना कार्यालय खोल्ने र स्थानीय जनगणना समन्वय समिति गठन गरिने जानकारी दिनुभयो ।
त्यस्तै जनगणनाका लागि आवश्यक पर्ने सुपरीक्षक र गणकको अनलाइन फारम भर्ने म्याद सकिइएको भन्दै भण्डारीले चितवनका लागि २०३ जना सुपरीवेक्षक र ८९५ जना गणकको दरबन्दी भएको बताउनुभयो । चितवनमा एक जना सुपरीवेक्षकले चार जना गणकको सुपरीवेक्षण गर्नुपर्ने भण्डारीले बताउनुभयो । सुपरीवेक्षकले वैशाख २६ देखि जेठ १४ गतेसम्म घरहरुको सूचिकरण तयार पार्नुपर्ने तथा जेठको २५ देखि जनगणना शुरु गरिने भण्डारीको भनाइ थियो ।
जनगणनाका लागि ८० वटा प्रश्नावली रहेको भन्दै उहाँले एउटा परिवारको फारम भर्नका लागि ४५ मिनेटसम्म समय लाग्ने बताउनुभयो । हरेक १० वर्षमा हुँदै आएको जनगणना यसवर्ष नमूना गणनाको रुपमा नभएर पूर्ण गणना हुने भण्डारीको भनाइ छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि हुनुहुन्थ्यो ।