प्रधानमन्त्री ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

काठमाडौं, १२ वैशाख।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन्।

एमाले महाधिवेशन आयोजक कमिटीका एक सदस्यका अनुसार अध्यक्ष ओलीले आज (आइतबार) बिहान साढे १० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बैठक बोलाएका हुन्।

उनका अनुसार बैठकमा सहभागिताका लागि शनिबार राति ११ बजे खबर आएको हो।

माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले आकस्मिक बैठक डाकेको उनको भनाइ छ।

बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन्।

यसअघि शुक्रबार मात्र बालुवाटारमै एमाले महाधिवेशन आयोजक कमिटीको बैठकको बसेको थियो।

जसले माधव नेपाल पक्षलाई हटाएर अध्यक्ष ओलीले पार्टीको नयाँ स्थायी कमिटी गठन गरेका छन् भने कर्णाली प्रदेशमा पार्टीको ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना प्रदेश सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।