काठमाडौँ–दिल्ली दैनिक दुई उडान,७२ घण्टा भित्रको पीसीआर परिक्षणमा कडाइँ

काठमाडौँ ,१२ वैशाख ।

भारतमा कोभिड–१९ महामारीको दोस्रो लहर देखापरेको भन्दै धेरै मुलुकहरूमा भारत उडानमा अस्थायी प्रतिबन्ध लगाएका छन् । नेपालले भने भारतसँगको उडान सुचारु राखेको छ । अहिले काठमाडौँ–दिल्ली दैनिक दुई उडान हुन्छ । भारत सरकार स्वामित्वको एयर इण्डिया र नेपाल वायु सेवा निगमले दैनिक १–१ उडान गर्दै आएका छन् । त्रिभुवन विमानस्थलका प्रवक्ता देव चन्द्र लाल कर्णले सरकारले निर्णय नगर्दासम्म भारतसँगको उडान सेड्युल अनुसार नै यथावत् सञ्चालन भैरहने बताए ।

भारतमा कोरोना भाइरसको मल्टिपल म्युटिसन (बी१६१७) फेला परेपछि त्यसलाई अन्य देशमा फैलन नदिन धेरै देशहरूले उडान अस्थायी रूपमा रोके पनि नेपालको भने त्यस्तो तयारी छैन । भारतमा उडान प्रतिबन्ध भएपछि धेरै भारतीयहरू नेपाल भएर विभिन्न गन्तव्यमा पुग्छन् भने तेश्रो मुलुकबाट काठमाडौँ हुँदै दिल्ली जाने गरेका छन् । यसअघि २०७६ चैतमा अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि अन्य मुलुकसँग उडान खोल्दा पनि भारतसँगको उडान बन्द नै राखेको थियो । झण्डै ९ महिनापछि गत मंसीरमा भारतसँग उडान सुचारु गर्ने सहमति भएको थियो । त्यसयता भारतबाट एयर इण्डिया र नेपालबाट नेपाल वायु सेवा निगमले काठमाडौँ–दिल्ली उडानको अनुमति पाएको थियो । विगतमा भारतसँग उडान सुचारु गर्ने सम्बन्धमा निकै कठोर देखिएको भएपनि सरकारले अहिले भारतमा महामारी उत्कर्षतिर जाँदै गर्दा पनि हवाइ सेवा सुचारु राखेको छ ।

‘यात्रुहरूलाई ७२ घण्टाभित्रको पीसीआर परिक्षणको रिपोर्ट अनिवार्य गरेका छौं र अद्यागमनले त्यसमा कडाइँ गरेको छ,’ कर्णले भने । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १५ ओटा जति अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् । आइतबारको सेड्युल अनुसार, कुवेतबाट जजिरा, सारजहाँबाट एयर अरेयिबा, मकाउ, दमाम तथा किङ खालिदबाट हिमालयन एयरका तीन उडान, दोहाबाट कतार एयरवेजका दुई उडान, नेपाल एयरलाइन्सका दुबइ र दिल्ली दुइ उडान, दुबइबाट फ्लाइ दुबइ, दिल्लीबाट एयर इण्डिया, आबुधाबीबाट इन्टर स्काइ, सिंगापुरबाट सिल्क एयर, छेङ्दुबाट एयर चाइना, इस्तानबुलबाट टर्किस एयरलाइन्स उडान तालिकामा समावेश छन् ।