कोरोनाको कहर: दिल्लीमा एक हप्ताका लागि बढ्दैछ लकडाउन

नयाँ दिल्ली ,१२ वैशाख ।

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाको कहर कम नभएपछि राज्य सरकारले त्यहाँ जारी लकडाउनलाई थप एक हप्ता बढाउने सम्भावना देखिएको छ ।

सूत्रका अनुसार दिल्लीको केजरीवाल सरकारले लकडाउनलाई बढाउने बारेमा विचार गरिरहेको छ ।
आज आइतबार यसको निर्णय लिइँदैछ ।

दिल्लीमा पोजिटिभिटी रेट ३२ प्रतिशतभन्दा माथि छ, अक्सीजनको संकट थप गहिरिएको छ, अस्पतालमा शैय्याको समेत अभाव भैरहेको छ ।

यीनै कुरालाई मध्यनजर गर्दै सरकारले तत्कालका लागि लकडाउन बढाउने बाहेक अन्य उपाय देखेको छैन ।

यसअघि १९ अप्रिल राति १० बजेदेखि दिल्लीमा लकडाउन प्रारम्भ भएको थियो, २६ अप्रिल अर्थात भोलि बिहान ५ बजेसम्म मौजूद लकडाउनको अवधि छ ।

आइतबार दिल्ली सरकारले यस बारेमा अन्तिम निर्णय लिने छ ।

दिल्लमा शनिवार मात्रै कोरोनाका २४ हजार १ सय ३ नयाँ संक्रमित फेला परे ।

चिन्ताको कुरा के छ भने पछिल्लो २४ घण्टामा दिल्लीमा मात्रै ३ सय ५७ जनाले ज्यान गुमाए ।

त्यसो त पछिल्लो छ दिनका लागि लागू गरिएको लकडाउनको निर्णय गर्ने बेलामा दिल्ली सरकारले यसबाट संक्रमणमा कमी आउने बताएको थियो र स्वास्थ्य संसाधनहरु तयार पार्ने मौका मिल्ने बताएको थियो ।

यद्यपि, छ दिनको लकडाउनपछि पनि दिल्लीमा कोरोनाको संक्रमण कम भएको छैन ।