मध्यविन्दुको बजेट ९० करोड : पूर्वाधार विकासलाई प्राथमिकता
नवलपुर, ११ असार ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९० करोड १३ लाख ३६ हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।
नगर उपप्रमुख ओमकुमारी महतोले सार्वजनिक गर्नुभएको बजेटमा आम्दानीतर्फ अन्तर वित्तीय समानिकरण अनुदान रु १६ करोड २० लाख, राजस्व बाँडफाँड रु ११ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान रु १ करोड ९६ लाख ९६ हजार, सवारी कर बाँडफाँड रु १ करोड ६ लाख ७८ हजार, आन्तरिक राजस्व अनुमान रु १८ करोड ४५ लाख, सशर्त अनुदानबाट रु २७ करोड २० लाख र आार्थिक वर्ष २०७७/७८ को मौज्दात रु १३ करोड ८० लाख १७ हजार गरी जम्मा रु ९० करोड १३ लाख ३६ हजार बराबर रहेको छ ।
त्यस्तै व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु १२ करोड ९५ लाख २६ हजार, आर्थिक विकासतर्फ रु ४ करोड १८ लाख ५५ हजार, समाजिक विकासतर्फ रु ८ करोड १८ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ रु ३३ करोड ७२ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु २ करोड ६१ लाख, सुशासन तथा संस्थागततर्फ रु १ करोड २८ लाख, सशर्त अनुदान खर्च रु २७ करोड २० लाख गरी जम्मा रु ९० करोड १३ लाख ३६ हजार अनुमान गरिएको छ ।
त्यसैगरी नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमसमेत नगरसभाले पारित गरेको छ । रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शिक्षा, कृषि, रोजगार लगाएतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगरप्रमुख रानाले नगरवासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा गरिएको बताउनुभयो ।
कोभिड–१९ का कारण नगरभित्रको आर्थिक गतिविधि धराशायी हुने जोखिम र शिक्षा क्षेत्रमा नया चुनौती थपिने जोखिम बढेको नगरप्रमुख रानाले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा नारायणी नदीको कटान र डुबानको जोखिमसँगै पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको रानाले बताउनुभयो । मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभामा प्रस्तुत भएको बजेटबारे छलफल गर्न नगरसभा सदस्यहरुले समय माग गरेपछि नगरप्रमुख रानाले आगामी असार २५ गते बिहान ११ बजेसम्मका लागि नवौँ नगरसभा स्थगित गर्नुभएको छ ।