देवघाट गाउँपालिकाले ल्यायो करिब ४९ करोडको बजेट
नवलपुर, ११ असार ।
महत्वपूर्ण धार्मिक स्थल देवघाटधाममा अवस्थित देवघाट गाउँपालिकाले पर्यटन प्रबद्र्धनमा जोड दिँदै आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ४८ करोड ६९ लाख ७८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । आठौँ गाउँसभामा उपाध्यक्ष विमला थापाले प्रस्तुत गर्नुभएको सो बजेटमा सबै गाउँसभा सदस्यहरुले सहमति जनाएपछि गाउँपालिका अध्यक्ष दुर्गबहादुर रानाले बजेट पारित भएको घोषणा गर्नुभयो ।
बाजेटमार्फत उपाध्यक्ष थापाले गाउँपालिकाको चालु खर्चतर्फ रु ३२ करोड ८४ लाख ८५ हजार तथा पुँजीगत खर्चतर्फ रु १५ करोड ८४ लाख ९३ हजार बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । सशर्त बजेट रु १९ करोड सात लाख, सङ्घीय समपूरक अनुदान रु एक करोड ९८ लाख तथा प्रशासनिक खर्चतर्फ विभिन्न कार्यक्रम र अनिवार्य दायित्वका कार्यक्रम गरी रु ११ करोड ७९ लाख ८५ हजार बराबरको बजेट विनियोजन गरिएको थापाले बताउनुभयो । त्यस्तै सशर्त अनुदान रु ८८ लाख, विशेष अनुदान दुई करोड ४९ लाख, गाउँपालिकाको भवन निर्माण, सडक निर्माण लगायतका लागि १२ करोड ४७ लाख ९३ हजार विनियोजन गरिएको थापाको भनाइ छ ।
गाउँपालिकामा अध्यक्ष दुर्गबहादुर थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी बजेट निर्माण गरिएको उपाध्यक्ष थापाले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटले मुख्यगरी आर्थिक विकासका लागि कृषि क्षेत्र, सामाजिक विकासका लागि जनस्वास्थ्य, पर्यटन, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापनलगायतका विषयमा विषयमा केन्द्रित रहेर बजेट ल्याएको थापाको भनाइ छ । कोभिड–१९ का कारण शिक्षा क्षेत्र विशेष गरी विद्यार्थी बढी प्रभावित भएकाले शिक्षामा नयाँ प्रविधि र त्यसको अध्ययन गरिने उपाध्यक्ष थापाले बताउनुभयो ।
जनआकाङ्क्षा र गाउँ सभा सदस्यहरुको विकास प्रतिको तीव्र अपेक्षाको सम्बोधन गर्न ठूलो आकारको बजेट आवश्यकता पर्ने भन्दै उपाध्यक्ष थापाले आन्तरिक स्रोतको स्थान ज्यादै न्यून हुँदा सङ्घ र प्रदेशको अनुदानको भर पर्नुपर्ने अवस्था भएकाले सबैको चाहना एकै वर्षमा सम्बोधन गर्न नसकिएको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटका विभिन्न उद्देश्यहरु रहेको भन्दै उपाध्यक्ष थापाले भन्नुभयो, “गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारीका अवसर वृद्धि गर्ने, सहज आगमनका लागि भौतिक पूर्वाधारतर्फ सडक पहुँच विस्तार गर्ने, कृषिको क्षेत्रमा प्राथमिकता दिइ उत्पादन र उत्पादकत्व बढाउने हाम्रो मुख्य उद्देश्य हो ।”