निषेधाज्ञाको ४५ दिन : चितवनमा करिब २१ लाख लिटर दूध नोक्सान
चितवन, ११ असार ।
दोस्रो लहरमा कोरोना सङ्क्रमण फैलिएसँगै चितवनमा जारी निषेधाज्ञा कारण ४५ दिनमा कृषकहरुको २० लाख ९० हजार लिटर भन्दा बढी दूध नोक्सान भएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव किशोर बगालेले वैशाख १७ देखि जेठ मसान्तसम्म मात्रै २० लाख ९० हजार २१४ लिटर दूध नोक्सान भएको बताउनुभयो । चितवनमा रहेका ११० वटा दुग्ध उत्पादक सहकारी संस्थाहरुले सामान्य अवस्थामा ४५ दिनमा ७७ लाख ९६ हजार २५० लिटर दूध बिक्री गर्दै आएकोमा निषेधाज्ञा कारण देखाउँदै डेरी उद्योगहरुले दूध लैजान नमानेपछि कृषकले उत्पादन गरेको दूध खेर गएको बगालेले बताउनुभयो । खेर गएको दूधको मूल्य करिब ११ करोड ७ लाख ८१ हजार ३२४ रुपैयाँ हुन आउने बगालेले बताउनुभयो ।
यो नोक्सान बाहेक सहकारीहरुले संकलन गरेको दूधबाट पाउडर बनाउँदै पुनः कृषकलाई नै फिर्ता गर्ने गरिएको समेत बगालेले बताउनुभयो । डेरी उद्योगहरुले निषेधाज्ञा अवधिमा सहकारीमार्फत सस्तोमा दूध लैजान खोज्ने तर उपभोक्तालाई महँगोमा बिक्री गर्न खोजेकाले यस्तो प्रवृत्ति अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने बगालेले बताउनुभयो ।
यस अवधिमा चितवनका केही सहकारीहरु ३७ दिनसम्म बन्द भएका उल्लेख गर्दै बगालेले औषतमा १५ देखि २० दिन सहकारीहरु बन्द भएका जानकारी दिनुभयो । डीडीसी सरकारले तोकेकै मूल्यमा दूध संकलन गर्ने गरेको भए पनि अन्य निजी डेरीहरुले विभिन्न बाहाना बनाउँदै दूधको मूल्य घटाउन खोजेका कृषकहरुको भनाइ छ । चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन हुँदै आएकोमा ५५ प्रतिशत दूध बाहिरी जिल्लाहरुमा पठाउने गरेको छ ।
गंगानगर दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष एवं गंगानगर दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले कृषकको उत्पादन लागत नै प्रति लिटर ४५ देखि ५० रुपैयाँसम्म पर्ने भन्दै ४० रुपैयाँमा दूध बिक्री गर्न नसकिने बताउनुभयो । डेरी उद्योगले सस्तोमा खरिद गर्ने भए उपभोक्तालाई पनि सस्तोमा उपलब्ध गराउनुपर्ने भन्दै गौतमले होइन भने दूधको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो ।