रत्ननगरमा भएको खोप दुरुपयोग विरुद्ध युवाहरुको प्रदर्शन (भिडियो सहित)
चितवन , ११ असार।
पूर्वीचितवनको रत्ननगरमा कोभिड १९ विरुद्धको खोपको दुरुपयोग भएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका छन् ।रत्ननगर नगरपालिका परिसरमा युवाहरुले खोप खोई , भेदभाव किन , खोप आफ्नालाई हो , रत्ननगरमा घोटला लगायतको प्ले कार्ड सहित विरोध जनाएका थिए ।
रत्ननगर नगरपालिकामा ६२ देखी ६४ बर्ष र अग्रपंक्तिमा खटिएकाको लागि आएको खोप नगर प्रमुखको परिवार , उद्योग वाणिज्य संघका पदाधिकारी , उनीहरुको परिवार , विभिन्न राजनितिक दलका नेता लगायतले लगाएको खबर बाहिर आएसँगै युवाहरुले आज विरोध जनाएका हुन् । राष्ट्रिय शक्ति नेपालका जिल्ला अध्यक्ष कृष्ण लामा , सचिव विशाल डल्लाकोटी , कोषाध्यक्ष विराज चौधरी लगायतको युवाहरुको समूहले नगरपालिकाको उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराउँदै खोपको दुरुपयोग गर्नेलाई कारबाहीको माग गरेका छन् । उनीहरुले खोप लगाउनको लागि तोकिएको लक्षित उमेर समूह , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , संचारकर्मी लगायत अग्रपंक्तिमा खटिएका बाहेक खोप लगाएकाहरुले नाम सार्वजनिक गर्न माग समेत गरेका छन् ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले स्वास्थ्य शाखाको कमजोरीको कारण तोकिएको बर्गबाहेककाले खोप लगाएको बताए । उनले स्वास्थ्य शाखासँग स्पष्टीकरण मागेको जानकारी दिए ।
नगरपालिकाकी उप प्रमुख विमलादेवी दुवाडीले स्वास्थ्य शाखा र अस्पतालबाट कमजोरी भएको स्विकार गरेकी छन् । उद्योग वाणिज्य संघको टोलीले झुकक्याएर खोप लगाएको उनले दावी गरेकी छन् । उद्योग वाणिज्य संघको टोलीले नगरपालिकाले पठाएको भन्दै रत्ननगर अस्पताल गएर खोप लगाएको दुवाडीले बताइन् ।
भिडियो https://youtu.be/jT9hCTPrQUw