जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने प्रतिस्पर्धा चलिरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ ,११ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रपतिको आलोचना गर्ने प्रतिस्पर्धा भइरहेको बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशित गरेका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मन्त्री पदमा रहँदा सार्वजनिक कार्यक्रममा दिएका मन्तव्यहरूको संकलन समेटिएको सहित विभिन्न चार पुस्तक विमोचन गर्दै विपक्षी नेताहरू बीच जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन (प्रतिस्पर्धा)’ चलिरहेको ओलीले आरोप लगाएका हुन् ।
प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटनलगायत विभिन्न असंवैधानिक निर्णयहरूमा राष्ट्रपतिले विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको भन्दै आलोचना भइरहेको छ ।
प्रधानमन्त्री ओलीले भने बिहीबार विपक्षी गठबन्धनमा रहेका पूर्वप्रधानमन्त्री लगायतका नेताहरूले पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तितर्फ लक्षित गर्दै राष्ट्रपतिलाई गाली भइरहेको बताएका हुन् ।
बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भने, ‘मैले एकपल्ट भनेको थिएँ रिसाएको बिरालोले खाँबो चिथोर्छ । राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चल्या छ ।’
संविधानले दिएको अधिकारअनुसार नै राष्ट्रपति चलिरहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘हिजो पनि केही भूतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेथेँ । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्म उहाँहरू पुग्नुभयो । कतिबेर के बोल्ने र लोकतन्त्रका दुहाइ दिने ? राष्ट्रपतिलाई हामीले जे अधिकार दिएका थियौं राष्ट्रपति त्यसमा सीमित हुनुहुन्छ, त्यसमा सीमित हुनुपर्छ ।’