बाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

Desk
  |   
प्रकाशित मिति: कार्तिक ०८, २०७८
129 Shares

काठमाडौं, ८ कात्तिक । झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको बाग्मती नगरपालिकासँग १–१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो ।

कनकाईको लागि कुसुम खतिवडा र बाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन् । खेल बराबरीमा अन्त्य भए पनि बाग्मतीलाई गोलअन्तरमा पछि पार्दै कनकाई समूह एबाट प्रतियोगितामा अघि बढेको हो । दुबै टोलीको दुई खेलबाट समान ७ अंक रहेको छ ।

बाग्मतीले राष्ट्रिय टोलीका रेणुका नगरकोटे, रश्मीकुमारी घिसिङ र गीता राणालाई टोलीमा समावेश गरे पनि दोस्रो चरणमा स्थान बनाउन सकेन ।
खेलमा कनकाईकी कुश्मा राई प्लेअर अफ दी म्याच बन्दै ट्रफी पाइन् । आजै समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर नगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । खेलको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा चार टीम र अन्य समुहमा तीन– तीन टीम रहेका छन् । प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउने छन् । साथै, फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।
 

Desk
प्रकाशित मिति: कार्तिक ०८, २०७८
129 Shares
Footer ads