पर्यटकको स्वागत गर्न आतुर छन् गण्डकीका पर्यटकीय स्थल

वासुदेव पौडेल/कृष्ण दवाडी
गण्डकी, १३ माघ । 

कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन संस्थागत रुपमा समेत विभिन्न प्रयास भइरहेका अवस्थामा गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् ।

पोखरासहित समग्र गण्डकी क्षेत्र पर्यटकका लागि खुलेको सन्देश प्रवाह गर्न गण्डकीमा क्रियाशील पर्यटन सम्बद्ध सङ्घ संस्थाको अगुवाइ एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा केही समय यता विभिन्न स्थानको प्रवद्र्धनात्मक भ्रमणसमेत सम्पन्न भइसकेको छ ।

पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाहसहित यहाँका पर्यटकीयस्थलको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशिराज भण्डारीले बताउनुभयो ।

“हामीले पहिलो चरणमा पर्यटनसम्बद्ध सङ्घ संस्थासँगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “यी भ्रमणले समग्र पोखरासहित गण्डकी प्रदेशको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।”

आगामी दिनमा प्रदेशका महत्वपूर्ण पर्यटकीय गन्तव्य एवं गतिविधि समेटिएको श्रव्य दृश्य सामग्री तयार गर्ने, विभिन्न तालीम सञ्चालन गर्नेलगायतका कार्यक्रम गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य गण्डकी प्रदेश हिमाल, पहाड र तराईको भूभागमा समेटिएको छ । यहाँका प्राकृतिक एवं मानवनिर्मित सम्पदाले स्वदेशी वा विदेशी जो कोहीलाई लोभ्याउने गरेका छन् । तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङकोे लोमान्थाङ र मनाङ जिल्लामा पर्ने विश्वको सर्वोच्च उचाइको तिलिचो ताललगायत प्राकृतिक छटा र सुन्दरताले पर्यटकलाई मोहित तुल्याउने गर्दछ ।

नदीनाला, मठमन्दिर र हिमशृङ्खलाको दृश्यावलोकनका गन्तव्यले गण्डकी प्रदेशमा पर्यटकलाई आकर्षित गर्दै आएको छ । प्रदेशमा अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्र पछिल्लो समयभने कोभिड–१९ ले प्रभावसँगै नराम्रोसँग प्रभावित बन्न पुग्यो । गण्डकीका ११ वटै जिल्लाका पर्यटकीय गन्तव्य कोरोना महामारीसँगै बन्द भए ।
लामो समय सुनसान बनेका पर्यटकीय गन्तव्यमा पछिल्लो एक÷दुई महिनायता भने चहलपहल शुरु भएको छ । बन्द भएका सबै पर्यटकीयस्थल माघदेखि खुला भएर पर्यटकको स्वागतका लागि तम्तयार छन् ।
प्रदेशभित्रका कास्की जिल्लामा पर्ने फेवाताल, तालवाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, मुस्ताङको मुक्तिनाथ, गोरखाको मनकामना, गोरखा दरबार, नवलपुरका गोरक्षमोक्षधाम, कैलाश आश्रम, वाल्मिकी आश्रम, मौलाकालिका, देवघाट, वाग्लुङको वाग्लुङ कालिकालगायतका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल खुलेसँगै यहाँ पर्यटकीय गतिवधि बढ्न थालेको छ ।

पछिल्लो समयमा पोखराकै अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, जीप लाइन, बञ्जी, अल्ट्रालाइट जस्ता पर्यटकीय गतविधि पनि सञ्चालनमा आइसकेका छन् । पदयात्रा पर्यटनमा आकर्षक मानिएको प्रदेशका अन्नपूर्ण, मर्दी तथा माछापुच्छ«े पदयात्रा मार्गका सबैस्थल समेत खुला भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।
लामो समय बन्द भएका प्राकृतिकस्थल, दृश्यावलोकन स्थल, साहसिक पर्यटनका गतविधि सञ्चालनमा आएसँगै आगामी दिनमा पर्यटनको आवागमन बढ्ने अपेक्षा गरिएको छ ।

विश्वमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्य मानिने अन्नपूर्ण आधार शिविर र ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक यही माघ १ गतेदेखि पर्यटकका लागि खुला भएपछि गण्डकी प्रदेशका सबै पर्यटकीय गन्तव्य पर्यटकका लागि खुला भएका हुन् । शुरुमा अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट अनिवार्य भनिएकामा उक्त प्रावधानले आउन चाहने पर्यटकलाई झन्झटिलो हुने महसुस गरी रिपोर्टविना नै जान सक्ने व्यवस्था मिलाइएको छ ।

छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङका अनुसार कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किंदै गरेको अवस्थालाई दृष्टिगत गरी पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो ।

कोरोना सङ्क्रमण पनि घट्दै गएको र जनजीवन पनि सामान्य अवस्थामा फर्किएका कारण पिसिआर रिपोर्ट झन्झटिलो महसुस गरी समितिले यस्तो निर्णय लिएको जानकारी दिँदै उहाँले आधार शिविर आउने पदयात्रीलाई स्वास्थ्य अवस्थामा मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन समितिले भनेको बताउनुभयो ।

घान्द्रुक खुला हुनुअघि पुसको अन्तिम साता धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिर खुला भएको थियो । पर्यटन बोर्डका गण्डकी प्रदेशका प्रमुख भण्डारीले कोभिडका कारण बन्द प्रदेशका सबै पर्यटकीय गन्तव्य खुला भइसकेकाले आगामी दिनमा सबै किसिमका पर्यटकीय गतिविधि पुनः सञ्चालन हुने बताउनुभयो । “अन्नपूर्ण क्षेत्रको महत्वपूर्ण गन्तव्य घान्द्रुक खुला भएसँगै गण्डकी प्रदेशका सबै पर्यटकीस्थल खुलेका छन्, कोरोनाले शून्यतामा पु¥याएको पर्यटन क्षेत्रको पुनस्र्थापनाका लागि आन्तरिक पर्यटनलाई जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेर देशका धेरैतिरका गन्तव्यमा चहलपहल शुरु भए पनि घान्द्रुक खुलेको थिएन । व्यवसायीले पर्यटकको आउजाउ बढ्ने र यसबाट गाउँमा सङ्क्रमणको सम्भावित जोखिम बढ्ने भएकाले लामो समय बन्द गरेका थिए । पोखरा आएका कतिपय पर्यटक घान्द्रुक जान नपाउँदा निराश भएको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी खुला गरिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित हामी व्यवसायी मारमा पर्दै गयौँ, कोरोनाको त्राससँगै डराएर बसिरहँदा व्यवसाय पनि धराशयी हुने अवस्था आएपछि सबैखाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर पर्यटकका लागि खुला गरेका छौँ ।”

समितिले सङ्क्रमण न्यूनीकरण र लक्षण देखिएका पाहुनालाई राख्नका लागि छुट्टै आइसोलेशनको समेत व्यवस्था गरेको छ । पदयात्राका क्रममा पर्यटकलाई ज्वरो आएमा अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आइसोलेशन घरमा नर्सहरूको निगरानीमा राखिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

घान्द्रुक खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउजाउ गर्न सक्छन् । घान्द्रुकबाट पर्यटक छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ«े आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सक्नेछन् ।

पदयात्रा पर्यटनका लागि आन्तरिक पर्यटकको रोजाइमा परेको मर्दी हिमाल पदयात्रा तथा माछापुच्छ«े नमूना पदयात्रा सबैभन्दा पहिला पर्यटकका लागि खुला भएका क्षेत्र हुन् । दशैँलगत्तै यी दुवै पदयात्रा मार्गमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेकामा हाल भने चिसो बढेका कारण पर्यटक कम रहेको पर्यटन व्यवसायी सुदीप गौतमले बताउनुभयो ।

कोरोना कहर अझै साम्य भइनसकेकाले विदेशी पर्यटक तत्कालै नेपाल आउने सम्भावना कम छ । विदेशी पर्यटकभन्दा पनि स्वदेशी पर्यटकलाई प्राथमिकता दिनका लागि आन्तरिक पर्यटनमा जोड दिने गरी कार्यक्रम शुरु गरिने बोर्डले जनाएको छ ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले समेत आन्तरिक पर्यटन पुनरोत्थानका कार्यक्रममार्फत पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुले पनि पोखराको पर्यटनलाई चलायमान बनाउने विश्वास लिइएको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पोखरामा क्रियाशील सबै पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको अगुवाइमा भएको प्रवद्र्धनात्मक भ्रमणले पोखराको पर्यटनबारे राम्रो सन्देश दिएको छ । “सङ्घले पर्यटनसम्बद्ध सङ्घसंस्थाको प्रतिनिधिसहित नवलपुर क्षेत्रका धार्मिक पर्यटकीयस्थलमा गरेको भ्रमणबाट गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर धार्मिक पर्यटकीयरुपमा धेरै सम्भावना बोकेको पायौँ”, उहाँले भन्नुभयो, “नवलपुर क्षेत्रका गजेन्द्रमोक्षधाम, कैलाश आश्रम, वाल्मीकि आश्रम, मौलाकालिका, देवघाट आदिलाई धार्मिक पर्यटनका आकर्षक गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ ।” भ्रमणसँगै पोखरासहित समग्र गण्डकी प्रदेश पर्यटनका लागि खुला छ है भन्ने सन्देश प्रवाह भएको उहाँले बताउनुभयो ।

कोरोनाले थलिएको पोखराको पर्यटनलाई रेष्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षमा गरेको सडक महोत्सवले आन्तरिक पर्यटकलाई चलायमान बनाएको पर्यटन व्यवसायीको अनुभव छ । रेवानले वर्षेनि आयोजना गर्दै आएको सडक महोत्सवमा यस वर्ष विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकले भने पोखरा भरिएको थियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा हालै कास्की, पर्वत तथा वाग्लुङका विभिन्न होमस्टे (घरबास)मा प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो ।

“हामीले बागलुङको पर्यटकीयस्थल ढोरपाटनस्थित पाखाथर सामुदायिक होमस्टेदेखि बागलुङकै रिघा सामुदायिक होमस्टे, पर्वतको लप्सीबोट सामुदायिक होमस्टे, भुकदेउराली सामुदायिक होमस्टेलगायत कास्कीको धिताल हेमजाकोट होमस्टेलगायतको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटनका अन्य क्षेत्रजस्तै गण्डकी प्रदेशमा गाउँ पर्यटनका सबै गतिविधि आगामी दिनमा चलायमान हुनेछन् ।”

ट्रेकिङ ऐजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले अन्नपूर्ण उत्तरी आधार शिविरको परिचयात्मक भ्रमणका साथै कास्कीको मादी गाउँपालिकाको सहयोगमा मादीका ताङतिङ, करापुपुडाँडा, क्होलासोंथर, ठूलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको अध्ययन, अनुसन्धान एवम् प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिनुभयो ।

“गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य सबै किसिमले सुरक्षित तथा खुला छन् भन्ने सन्देशका साथै यहाँका प्राकृतिक एवं सांस्कृतिक स्थलको पर्यटनको विश्व बजारमा प्रचारप्रसार पनि आवश्यक छ,” उहाँले भन्नुभयो ।
नेपालको पर्यटनको प्रमुख हिस्सा ओगट्ने पदयात्रा पर्यटन विगत केही समययता जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्ग छोटिँदै गएको अवस्थामा नयाँ वैकल्पिक पदमार्गहरुको खोजी, पुराना पदमार्गको प्रवद्र्धन हुनु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

टानले कोरोनापछि भौगोलिक एवं सांस्कृतिक विविधताको पहिचान एवं विभिन्न जातजाति, वेशभूषा, रहनसहन, कला संस्कृति र सम्पदालाई पहिचान, संरक्षण, प्रवद्र्धन र मूल्याङ्कन गरी पदयात्रा क्षेत्रलाई ‘पदयात्रा संरक्षण क्षेत्र’ का रुपमा विकास गर्दै यसैबाट समग्र पर्यटनको विकाससँगै प्रदेशमा अधिकतम रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको अध्यक्ष पौडेलले बताउनुभयो ।

कोरोनाको कहरसँगै शिथिल बनेको पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन सबै पर्यटकीय गतिविधि खुलेसँगै चलायमान बन्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । आगामी दिनमा पर्यटलाई गतीशील बनाउन प्याकेजका कार्यक्रमसहित जानुपर्नेमा परिषद्ले जोड दिएको बताउँदै उहाँले थलिएको पर्यटनलाई जोगाउनका लागि सरकारले पर्यटनमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यवसाय बचाउनका लागि मौद्रिक नीतिको कार्यान्वयन, सहुलियत दरमा ऋण, ऋणको पुनःतालिकीकरण आदिका लागि सम्बद्ध पक्षसँग आग्रह गर्दै आएको बताउँदै उहाँले नयाँ किसिमका पर्यटकीय पूर्वाधार विकास गर्नु पनि आवश्यक रहेको बताउनुभयो ।