‘सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ’: पोखरेल

काठमाडौं,१४ फागुन ।

ओली पक्ष नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–माधव पक्षलाई चेतावनी दिएका छन् ।ओली पक्षधर विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रवार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले हिम्ममत भए संसदमा अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिएका हुन् ।

उनले प्रधानमन्त्रीले राजीनामा नदिने दाबी गर्दै सर्वोच्च अदालतको निर्णयले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको बताए ।

‘केपी ओली लोकतन्त्रमाथि विश्वास राख्नुहुन्छ। सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ’ उनले भने।

‘अदालतको निर्णय हामी कार्यान्वयन गछौँ। तर, सर्वोच्च अदालतको निर्णय सबैभन्दा ठूलो होइन’ उनले भने, ‘सबैभन्दा ठूलो अदालत भनेको जनता नै हो।’

आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर अर्को पार्टीको सभापतिलाई प्रधानमन्त्री बन्नु भन्दै जाने व्यक्ति कम्युनिस्ट पार्टीको नेतृत्व हुन नसक्ने उनले बताए ।