नेपाल–खनाल पक्षको केन्द्रीय समिति बैठक कलंकीमा
काठमाडौं,१३ चैत ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ।
कलंकीस्थित मेघा पार्टी प्यालेसमा नेपाल खनाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको हो।
बैठकमा सहभागी एक नेताका अनुसार चार नेतालाई सोधेको स्पष्टीकरण, केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने र आगामी रणनीतिबारे छलफल हुने छ।
उनले ओलीले अब दिउँसो बोलाएको बैठकमा जाने कि नजाने भन्ने विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिए।
प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन्। नेपाल–खनाल पक्षले बैठकमा जाने संकेत गरे पनि आजको बैठकबाट औपचारिक निर्णय हुने बताएको छ।
सर्वोच्च अदालतले नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युताउने निर्णय गरेपछि नेकपा छँदैदेखिको जारी अन्तरसंघर्ष एमाले ब्युँतिएपछि थप उत्कर्षमा पुगेको छ। कतिपय जनवर्गीय संगठनहरुले त समानान्तर समिति समेत बनाइसकेका छन्।