शिक्षक संगठनले वुझायो नगरपालिकामा ज्ञापनपत्र
चितवन,१३ चैत ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन खैरहनी नगर कार्यसमितिले खैरहनी नगर प्रमुखलाई शुक्रवार ज्ञापन पत्र वुझाएको छ । बागमती प्रदेश अन्र्तगतका सवै स्थानीय तहमा ज्ञापन पत्र वुझाउने कार्यक्रम अनुसार खैरहनी नगर प्रमुखलाई पनि पत्र वुझाईएको हो । विभिन्न १९ वुँदे मागसहितको ज्ञापन पत्र नगर समिति अध्यक्ष कृष्णप्रसाद दुवाडीले नगर प्रमुख लालमणि चौधरीलाई वुझाएका हुन् । शिक्षकहरुको पेशागत मागहरु पुरा गराउनका लागि स्थानीय तह मार्फत संघीय सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र वुझाईएको संगठनका नगर अध्यक्ष दुवाडीले वताए । ज्ञापन पत्रमा नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच गरिएका ३० वुँदे सम्झौता तुरुन्त लागू गर्नु पर्ने,उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने,वाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुको माग अविलम्व पुरा गर्नु पर्ने,स्थायी शिक्षकहरुको अस्थायी अघिको गणना गरि निवृत्तभरणको व्यवस्था गर्नु पर्ने,खैरहनी नगरपालिका भित्र कार्यरत वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको पारिश्रमिकमा न्युनतम मापदण्ड कायम गरिनु पर्ने लगायत मागहरु समेटिएका छन् । संगठनका पदाधिकारी तथा सदस्यहरु र संगठनमा आवद्ध सदस्यहरु नगर प्रमुखको कार्यकक्षमा पुगेर ज्ञापन पत्र वुझाएका थिए । सो अवसरमा नगर प्रमुख लालमणि चौधरीले शिक्षाको गुणस्तर वृद्धीका लागि सवै संघसंगठनसंग हातेमालो गरेर नगरपालिका अघि वढिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सल्लाह सुझाव दिन आग्रह गरे ।