नेपालमा अर्ना गणना : दुई वर्षमा १३ प्रतिशत बढे
चितवन, १३ वैशाख ।
नेपालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना ) को सङ्ख्या वृद्धि भएको छ ।
यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतबार सार्वजनिक गरिएको छ ।
सन् २०२१ को गणनामा प्राकृतिक बासस्थानमा ४९८ वटा अर्ना रेकर्ड गरिएका छन् । सन् २०१८ को गणनामा ४४१ वटा अर्ना रेकर्ड गरिएको कुरा कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामले बताए । सन् २०१८ को गणनामा भन्दा करिब १३ प्रतिशतले अर्नाको सङ्ख्या वृद्धि भएको उनले बताए ।
प्राप्त रेकर्ड अनुसार ४९८ मध्य २२१ वटा वयस्क भाले, १६२ वटा वयस्क पोथी, ४८ वटा अर्ध वयस्क, दुई/तीन वर्षको बच्चा ३५ वटा, एकदेखि दुई वर्षको बच्चा ३२ वटा भेटिएका छन् ।
जङ्गली भैँसी (अर्ना ) विश्वमा निकै दुर्लभ मानिन्छ । यो वन्यजन्तु प्राकृतिक बासस्थानमा नेपाल, भारत, भुटान, कम्बोडिया र थाइल्याण्डमा मात्र पाइने गरेको छ । विश्वभरी अर्ना पाइने मुलुकाको सङ्ख्या हेर्दा नेपालमा यसको सङ्ख्या दोस्रो ठूलो झुण्ड मानिन्छ । सबैभन्दा बढी भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा पाउने गरेको छ ।
नेपालमा कोशी टप्पुमा मात्र यसको बासस्थान भएकोले विसं २०३२ सालमा यसको बासस्थानलाई समेटेर कोशी टप्पु वन्यजन्तु आरक्ष घोषणा गरी संरक्षणका काम भइरहेको छ । २०३२ सालमा अर्नाको सङ्ख्या जम्मा ६३ वटा मात्र रहेको थियो । हाल आरक्ष घोषणा भएपछि यसको सङ्ख्या वृद्धि भएको हो ।
पश्चिम तराईतिर पनि यसको बासस्थान विकास गर्ने उद्देश्यले विसं २०७३ सालमा चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्नाको स्थानान्तरण गरी विशेष खालको बासस्थान निर्माण गरि राखिएका छन् भने दुई वटा अर्ना ललितपुरस्थित सदर चिडियाखानामा राखिएको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनका अनुसार संरक्षित प्रजाति, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार महासन्धीको अनुसूची ४ मा सूचीकृत तथा आइयूसीएनको अति सङ्कटापन्न सूचीमा पनि यो वन्यजन्तु राखिएको छ ।