नवलपुरमा जनगणनाका लागि ११० जना सुपरीवेक्षक छनोट

नवलपुर, १३ वैशाख ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जिल्लामा जनगणनाका लागि ११० जना सुपरीवेक्षक छनोट भएका छन् । जिल्लाका ८ वटै पालिका हेर्नेगरी ११० सुपरिवेक्षक छनोट गरिएको हो ।

छनाेट गरिएकामध्ये गैँडाकोटका लागि २० जना, बुलिङटारमा ६ जना, बाैँदीकालीमा ५ जना, हुप्सेकोटमा ८ जना, देवचुलीमा १६ जना, कावासोतीमा २७ जना, मध्यविन्दुमा १७ जना र विनयी त्रिवेणीमा ११ जना रहेको सहायक जिल्ला जनगणना अधिकारी रुद्रप्रसाद अधिकारीले जानकारी दिए। सबै पालिकाका लागि अहिले ४४३ जना गणक छनोट कार्य जारी रहेको उनले बताए । हाल जिल्लाको गैँडाकोट, देवचुली र बुलिङटार हेर्नेगरी गैँडाकोटमा स्थानीय जनगणना कार्यालय स्थापना भएको छ । त्यस्तै कावासोती, हुप्सेकोट र बौँदीकाली हेर्नेगरी कावासोतीमा, विनयी त्रिवेणी र मध्यविन्दु हेर्नेगरी मध्यविन्दुमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । यहि वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म पहिलो चरणमा सुपरिवेक्षकले घर तथा घरपरिवार सूचिकरण र जेठ २५ देखि असार १५ सम्म गणकले पारिवारिक विवरण सहितको मुख्य प्रश्नावलीमार्फत गणना गर्ने छन् ।
आइतबार स्थानीय तह स्तरीय सचेतना गोष्ठी अन्तरगत गैँडाकोटका जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको छ । वडा अध्यक्षहरु जनगणनाका वडास्तरीय संयोजक भएकाले यसबारे अभिमुखिकरण गरिएको गैँडाकोटका स्थानीय जनगणना अधिकारी देवेन्द्र गौतमले जानकारी दिए । सहायक जिल्ला जनगणना अधिकारी रुद्रप्रसाद अधिकारीले जनगणनाबारे अवगत गराएका थिए । नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।