वीरगन्जमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगन्ज ,१३ वैशाख।

पर्साको वीरगन्जमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका ६ आदर्शनगरका ६० वर्षीय पुरुषको वीरगन्जकै नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसित ती पुरुषमा वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ३ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । नारायणी अस्पतालमै उपचारका क्रममा उनको सोमबार साढे ९ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

कोरोनाको दोश्रो लहर सुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । वीरगन्जको नारायणी अस्पतालमा ९ जनाको , नारायणी बयोधा अस्पतालमा २ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक १२ जनामध्ये पर्साका ९ जना , बाराका २ र सर्लाहीका १ जना हुन् ।