बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना

कृष्ण न्यौपाने

दमौली,१३ वैशाख । 

प्राकृतिक सुन्दरता, भूबनोट र मौलिक सांस्कृतिक विशेषताले पहाडकी रानी उपनाम पाएको तनहुँको बन्दीपुर गाउँपालिकाले यहाँ पुग्ने जसलाई पनि लोभ्याउने गर्दछ । विसं २०२५ मङ्सिर १ गते सदरमुकाम दमौलीमा स्थानान्तरण हुनुअघि बन्दीपुर तनहुँ जिल्लाको सदरमुकाम पनि थियो ।

समुद्र सतहबाट एक हजार ३० मिटर उचाईमा अवस्थित बन्दीपुर मगर, गुरुङ र नेवार समुदायको कला, संस्कृति, प्यागोडा शैलीका मठमन्दिर, प्राचीन कलात्मक घर, ढुङ्गा बिछ्याइएका बाटोघाटोले आकर्षणको केन्द्रविन्दु बनिरहेको छ । पृथ्वी राजमार्गको डुम्रेबजार हुँदै दक्षिणी भागमा फैलिएको गाउँपालिकामा छ वटा वडा छन् । बन्दीपुरको कूल क्षेत्रफल १०२ वर्गकिमि हो । विसं २०६८ को जनगणनाअनुसार यहाँको कूल जनसङ्ख्या २० हजार १३ रहेको छ ।

गाउँपालिकाले पर्यटन, कृषि एवं पशुपालन र व्यापारको क्षेत्रमा ठूलो सम्भावना बोकेको छ । यहाँका बहुसङ्ख्यक बासिन्दा कृषि पेशामा संलग्न छन् । आर्थिक क्रियाकलापबाट स्थानीय वासिन्दाको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले पर्यटन, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाएको छ । राज्यका निर्देशक सिद्धान्तको आधारमा गाउँपालिकाले गर्ने विकासका योजनालाई केन्द्रित गर्न वाञ्छनीय देखिएकाले गाउँपालिकाले एकीकृत विकास गुरुयोजना बनाएर अघि बढेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा ।

“भोलिको बन्दीपुर कस्तो बनाउने भन्ने कुरा आजैबाट तयारीका साथ लाग्नुपर्दछ र त्यो तयारी स्वरुप हामीले गाउँपालिकाको बीस वर्षे एकीकृत गुरुयोजना तयार गरेका छौँ,” उहाँले भन्नुभयो, “बन्दीपुर विकासको मूल आधार नेपाली विशेषताको कृषि र प्राकृतिक तथा सांस्कृतिक पर्यटनलाई लिइएको हुँदा हामी आधुनिक कृषिप्रणाली र पर्यावरणीय पर्यटनको सङ्ख्यात्मक वृद्धिमात्र नभएर गुणात्मक विकास गर्न चाहन्छौँ ।”

अध्यक्ष थापाका अनुसार गाउँपालिकाले समग्र बन्दीपुरको विकासको सम्भावना पर्यटनबाट देखेको छ । पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसँग एकीकृत गर्न सकेमा गरिबीबाट मुक्त हुन सक्ने विश्वास उहाँको छ । गाउँपालिकाले निर्माण गरेको गुरुयोजनाले पर्यटन, कृषि तथा पशुपंक्षीपालन, लघुउद्यम, भौतिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकीकृत गर्दै समृद्ध बन्दीपुर र सुखी बन्दीपुरवासीको परिकल्पना गरेको थापाले बताउनुभयो ।

गाउँपालिकाले संस्थागत विकास, सुशासन र सार्वजनिक सेवा क्षेत्र, कानूनी तथा नीतिगत व्यवस्था उपक्षेत्र, पालिकाको संस्थागत संरचना विकास तथा सुधार उपक्षेत्र, सुशासन, पारदर्शीता र जवाफदेहिता उपक्षेत्र, आर्थिक विकास क्षेत्र, कृषि, बागवानी, पशुपंक्षीपालन उपक्षेत्र, जनपर्यावरणमैत्री पर्यटन विकास उपक्षेत्र, उद्योग व्यवसाय प्रबद्र्धन र उद्यमशीलता विकास उपक्षेत्र, सामाजिक विकासका लागि सार्वजनिक उत्तरदायित्व क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, युवा, खेलकूद र संस्कृति लगायतलाई आधार मानेर गुरुयोजना बनाएको छ ।

पर्यटन तथा सत्कार उद्योग क्षेत्रलाई बन्दीपुर गाउँपालिकाले आर्थिक समृद्धिको महत्वपूर्ण अवसरका रुपमा लिएको छ । अठारौँ शताब्दीतिर हालको गण्डकी प्रदेशमा रहेका विभिन्न ससाना राज्यले भोटदेखि भारतसम्म व्यापार गर्ने नाकाका रुपमा बन्दीपुर बजार विकास भएको मानिन्छ । विशेषगरी दुई सयवर्षको हाराहारीमा निर्माण गरिएका घर सांस्कृतिक धरोहरका रुपमा रहेका छन् ।

“पर्यटनका माध्यमबाट रोजगारीका अवसर वृद्धि गरी जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएका छौ,” गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले भन्नुभयो, “त्यसका लागि पर्यटन पूर्वाधार निर्माण अहिलेदेखि नै शुरु भइसकेको छ ।” बाह्य पर्यटकको सम्भावना अनुरुप वृद्धि हुने पोखरा र चितवन गन्तव्यलाई लक्षित गरी आउने पर्यटकमध्ये ३० प्रतिशतको अतिरिक्त गन्तव्यका रुपमा बन्दीपुरलाई पाँच दिनको पर्यटन बसाइ स्थलका रुपमा विकास गर्ने परिकल्पना गरिएको गुरुङ बताउनुहुन्छ ।

पर्यटन र अतिथि सत्कार क्षेत्रको व्यावसायिक विकास गरी पाँच वर्षको अवधिमा कम्तिमा दश हजार मानिसका लागि थप प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । औषत वार्षिक दुई लाख २४ हजार पर्यटकले बन्दीपुरमा औषत पाँच दिन बिताउनेछन् । उनीहरुले औषत दैनिक रु पाँच हजार बराबर रकम खर्च गर्ने प्रक्षेपण छ ।

“बन्दीपुर आउने अधिकांश पर्यटक एकैदिनमा फर्किने गरेका छन्, उनीहरुलाई कम्तिमा दुई रात र तीन दिन बन्दीपुरमै बस्ने बनाउन बीस वर्षे गुरुयोजना बनाएर अगाडि बढेका छौँ,” उहाँले भन्नुभयो, “त्यसका लागि पर्यटकीय पूर्वाधार पहिलो शर्त हो ।” गाउँपालिकाले बन्दीपुर गाउँपालिका–४ र ५ जोड्न रानीवन क्षेत्रमा साइकल लेन निर्माण गरेको छ । मगर र गुरुङ गाउँलाई जोड्न र पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले ९ किमि साइकल लेन निर्माण गरेको छ । साइकल लेन मार्फत् वडा नं ४ को गुरुङ जातिको कोरिखा होमस्टे र वडा नं ५ को मगर जातिको रामकोट होमस्टे जोडिन्छ ।

गाउँपालिकाले टुँडिखेलमा शिशाको दृश्यावलोकन विन्दु निर्माण गर्ने तयारी गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकन विन्दु निर्माण गरिनेछ । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकाले मिनी ग्रेटवाल पनि निर्माण गरिरहेको छ । गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालू आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

गत वर्ष रु ७० लाख खर्च भएकामा चालू आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ । कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

निर्वाहमुखी कृषिमा आश्रित जनसङ्ख्यालाई व्यावसायिक योजनाअनुसार कृषि, बागवानी र पशुपंक्षीपालनमा अगाडि बढाउने गाउँपालिकाको सोच रहेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी बताउनुहुन्छ । त्यसका लागि गाउँपालिकाले योजना बनाएको छ । कृषि, बागवानी र पशुपंक्षीपालनको व्यावसायिक विकास गरी वार्षिक औषत प्रतिव्यक्ति आय रु ७५ हजार लाई बढाएर दोब्बर पु¥याउने र त्यसका लागि हरेक वडामा कम्तिमा १० उत्पादन वस्तुका आधारमा पकेट क्षेत्र निर्माण गरिने सुवेदीले जानकारी दिनुभयो ।

हरेक उत्पादन समूहका लागि वस्तुको गुणस्तरीय उत्पादनका लागि क्षमता अभिवृद्धि गरिने र उत्पादनवस्तुको सहज र गुणस्तरीय रुपमा उपभोक्ता समक्ष पु¥याउने गरी बजार श्रृङ्खलाको सबलीकरण गर्ने योजना छ । गुरुयोजनामा गाउँपालिकाले परिकल्पना गरेका सडक सञ्जाललाई मापदण्डयुक्त र वातावरणमैत्री बनाउने सोच राखिएको छ । सडक सञ्जालको लक्ष्य भनेको हरेक नागरिकलाई कम्तिमा आफ्नो घरबाट २० मिनेटको पैदलयात्रापछि मोटरयात्राको अवसर प्रदान गर्नु रहेको छ ।

बन्दीपुर विकास गुरुयोजना निर्माण समितिका अध्यक्ष हेमराज लामिछानेले समृद्धि र विकास सबैको चाहना भएपनि चाहनाले मात्रै पूरा नहुने भएकाले गुरुयोजना बनाएर अगाडि बढ्न खोजिएको बताउनुभयो । “तत्कालीन, मध्यकालिन र दीर्घकालीन योजना कार्यान्वयनका लागि बजेट, लागू गर्ने निकाय, कार्यक्रम, अनुगमन, मूल्याङ्कन र पुनःवस्तुवादी योजना निर्माण गरी सबैको उचित समायोजनमा मात्रै समृद्धि हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।