जीवन रहे फेरि परीक्षा दिउँलाः शिक्षा मन्त्री श्रेष्ठ

चितवन, १३ वैशाख ।
सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकारले जनताको स्वास्थ्य र जीवनलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।
जनताको जीवन रक्षाका लागि नै अहिले सरकारले विद्यालय तथा विश्वविद्यालयको पठनपाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको श्रेष्ठले बताए । चितवनको भरतपुरमा सोमबार नेकपा (एमाले) चितवनले आयोजना गरेको २२औँ मनमोहन स्मृति दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले चाहेर मात्रै कोभिड नियन्त्रण गर्न नसक्ने बताए । स्वास्थ्य रह्यो र जीवित भइयो भने जाँच दिने दिन आउने उल्लेख गर्दै अहिले भौतिक उपस्थिति विना प्रविधिको प्रयोग गरेर अध्ययन गर्नका लागि उनले आग्रह गरे ।
सो कार्यक्रममा मन्त्री श्रेष्ठले कोभिड नियन्त्रणका लागि सबैले मास्क अनिवार्य लगाउने, हातमुख नियमित धुने तथा सेनिटाइजर गर्नुपर्नेमा जोड दिए । कार्यक्रम नेकपा (एमाले) चितवनकी अध्यक्ष एवं राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावलको अध्यक्षतामा भएको थियो ।