चितवनमा स्थानीय जनगणनाका कार्यक्रमलाई तीव्रता

चितवन, १३ वैशाख

स्थानीय जनगणना कार्यालय स्थापनापछि चितवनमा सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नारा सहित सुरु हुन लागेको १२औँ राष्ट्रिय जनगणनालाई त्रुटिरहित बनाउन सचेतना कार्यक्रमलाई तीव्र पारिएको जिल्ला जनगणना अधिकृत यज्ञमूर्ति भण्डारीले जानकारी दिए ।
हरेक १०/१० वर्षमा हुने गणनाको यो पटक घर तथा घर परिवार लगत सूचिकरण, मूख्य प्रश्नावली र सामुदायिक प्रश्नावली समेत समावेश भएकाले त्रुटि हुन नपाउने गरी कार्यक्रमलाई जोड दिइएको हो । गत वैशाख १ गते जिल्लामा सात वटा स्थानीय जनगणना कार्यलय स्थापना गरिएको थियो । त्यसपश्चात जिल्लाको राप्ती, रत्ननगर, कालिका र माडीमा यसअघिनै र सोमबार गीतानगरमा स्थानीय सचेतना कार्यक्रम गरिएको हो ।
सोमबार भरतपुर महानगरपालिका ६ गीतानगरमा रहेको स्थानीय जनगणना कार्यालयले कार्यक्रम सम्पन्न गरेको हो । यो कार्यालयले महानगरका वडानम्वर ५, ६, ७, ८, १३, १४, १५, २२ र २३ हेर्ने गर्दछ ।
कार्यक्रममा जनगणना अधिकारी भण्डारीले जनगणनामा जनप्रतिनिधिको भूमिका सहित १२औँ जनगणनाको महत्व, यस पटक समावेश गरिएका प्रश्नावली, विधि र प्रकृयाबारे जानकारी गराएका थिए । जिल्लामा २१० जना सुपरीवेक्षक र ८५७ जना गणक आवश्यक पर्नेमा सुपरीवेक्षकको नतिजा सार्वजनिक भइसकेको बताउनुभयो । साथै जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका भएकाले जनगणना सफल बनाउन आग्रह गरे ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले महानगरमा तथ्यगत सूचना आउने गरी जनगणनाको काम अघि बढाउने बताए ।