प्रशासनसँग पत्रकार महासंघको आग्रहः महामारीमा सहज रुपमा काम गर्ने वातावरण बनाऊ
चितवन, १३ वैशाख ।
चितवनमा कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर देखिएसँगै नेपाल पत्रकार महासंघ चितवनले सञ्चारकर्मीहरुलाई सुरक्षित रही आफ्नो कर्तव्य पूरा गर्न आग्रह गरेको छ ।
सोमबार अध्यक्ष नारायण अधिकारीद्वारा हस्ताक्षर गरिएको अपिलमा स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा अनुरोध गरिएको हो । सम्भव भएसम्म घरमै बसेर ईमेल, मोबाइल, टेलिफोन, सामाजिक सञ्जाल लगायत आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोग गरी समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । प्रत्यक्ष नभेटी नहुने भएमा सामाजिक दूरी कायम गर्न, सकभर आफ्नै सवारी साधन मात्रै प्रयोग गर्न, प्रेस ज्याकेट सहित आफ्नो परिचयपत्र देखिने गरी लगाउन तथा एउटै सञ्चारका सामग्री प्रयोग गर्न अपिल गरिएको छ ।
आफ्नो सामग्री अरुलाई नदिन भन्दै आफूले प्रयोग गरेका सामग्री नियमित सेनिटाइज गर्न आग्रह गरिएको छ । अधिकारीले सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहलाई आग्रह गर्नुभएको छ । अपिलमा भनिएको छ, ‘समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र प्रविधिको उच्चतम प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न सञ्चारगृहलाई महासङ्घ आग्रह गर्दछ ।’
सङ्कटको समयमा भ्रमको महामारी झनै खतरा हुने भएकोले आधिकारिक व्यक्तिले दिएको सूचना मात्रै प्रयोग गर्दै समाचार प्रकाशन÷प्रसारणमा अनावश्यक प्रतिस्पर्धा नगर्न आग्रह गरिएको छ । सङ्क्रमित व्यक्ति वा प्रभावितको सन्दर्भमा समाचार लेख्दा गोपनियता, आत्मसम्मान र मान मर्यादाको विषेश ख्याल राख्नुपर्ने, पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्य समाचार सामग्री संप्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि कर्तव्य पालना गर्न आग्रह गरिएको छ ।
त्यस्तै, पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि प्रशासनसँग विशेष आग्रह गरिएको छ । सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिडविरुद्धको लडाइँमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका नाताले विशेष प्रोत्साहन गर्न सम्बद्ध पक्षसँग महासङ्घले आग्रह गरेको छ ।