चितवनमा भेरोसेल खोपमा गम्भीर लापर्बाही, लगाउनै नहुने उमेरका व्यक्तिलाई खोप लगाइयो
बिकास पौडेल
चितवन , १२ असार । चितवनमा कोभिड–१९ विरुद्धको खोप लगाउँदा गम्भीर लापर्बाही गरिएको खुलासा भएको छ । १८ देखि ६५ वर्ष उमेरसम्मका नागरिकलाई मात्रै लगाउन मिल्ने भेरोसेल खोप चितवनमा १७ वर्षको किशोर र ८६ बर्षको वृद्धालाई समेत लगाएको पाइएको छ ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर–५ निवासी १७ वर्षीय एक किशोर र राप्ती ५ कै ८६ वर्षिय वृद्धालाई खोप लगाएको समावेसी खबरले प्रमाण फेला पारेको छ । १८ वर्ष भन्दामुनि र ६५ वर्ष भन्दामाथिको व्यक्तिलाई भेरोसेल खोप लगाउन नेपाल सरकारले स्वीकृति दिएको छैन । चिनबाट खोप आउँदा नै १८ देखि ६५ वर्षसम्मकालाई मात्रै प्रयोग गर्न मिल्ने भनेर उल्लेख भएकाले त्यो समूह बाहेककालाई खोप लगाउन नहुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए ।
१८ वर्ष भन्दामुनि र ६५ वर्ष भन्दामाथिको उमेर समूहमा भेरोसेल खोपको ट्रायल नै नभएकोले खोप प्रयोग गर्न नमिल्ने तिवारीले समावेसी खबरलाई बताए । यसरी खोप लगाउनै नहुने उमेरको किशोरलाई समेत खोप लगाएर राप्ती नगरपालिकाले गम्भीर लापर्बाही गरेको हो ।
सरकारले ६२ देखि ६४ वर्ष उमेर समूह, पहिलो डोज लगाएका व्यक्ति, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको लागि लक्षित गरी चलाएको खोप अभियानमा लक्षित वर्गभन्दा बाहिरी समूहकालाई मनपरी रुपमा खोप लगाएको पाइएको छ ।
पहुँच र नातागोताको हिसाबले चितवनमा खोपको व्यापक दुरुपयोग भएको छ । जनप्रतिनिधिको परिवार, आफन्त, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले पहुँचको आधारमा खोप लगाएका छन् ।