राष्ट्रपति प्रधानमन्त्रीको कार्यकर्ताजस्तै : सभापति देउवा
काठमाडौं ,१२ असार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवीले भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तै व्यवहार गरेको बताएका छन् । शनिबार काठमाडौंमा नागरिक समाज र पत्रकारहरूसँगको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा रातारात संसद् विघटन गरेको बताए ।
‘मैले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी बुझाएँ । उहाँको आह्वान अनुरुप सबै प्रक्रिया पु¥याएर दाबी प्रस्तुत गरेपछि त प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा उल्टै प्रतिनिधि सभा विघटन गरिदिनुभयो,’ देउवाले भने, ‘जुन कार्यका कारण प्रधानमन्त्रीसँग भन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुःख लागेको छ ।’
उनले प्रधानमन्त्री ओलीको कार्यकर्ताजस्तै भएर राष्ट्रपति भण्डारीले रातको दुई बजे संसद् विघटन गरेको आरोप लगाए । ‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्,’ उनले भने ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना र आफूलाई प्रधानमन्त्री घोषणा गर्नेमा आफू विश्वस्त रहेको देउवाले बताए । आफूहरू संविधान र लोकतन्त्र बचाउन एक भएको देउवाको भनाइ थियो ।