कोरोनाले छोएन कृषकलाई : गाउँगाउँमा धान रोप्न जुट्दै
नवलपुर, १२ असार ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको भएपनि जिल्लाको ग्रामीण क्षेत्रमा भने रोपाइँको चटारो छ । असारको शुरुआतसँगै वर्ष दिन खाने अन्नको जोहो गर्नका लागि किसानहरु खेतमा धान रोप्न व्यस्त छन् ।
असारसँगै मनसुन शुरु भएपछि पनि जिल्लाका अधिकांश स्थानमा धान रोपाइँ भइरहेको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ ढोकी फाँटमा धान रोप्दै गरेका रोपाहारहरु अहिले पानी परेकाले धान रोप्नमा आफूहरु व्यस्त भएको बताउँछन् । रोपाहार मध्येकी गीता विश्वकर्माले असारमा आफूहरुलाई धान रोप्न कराकर हुने बताउनुभयो ।
“यो समय किसानका लागि मानो रोपेर मुरी उब्जनी गर्ने बेला भनेर पनि भनिन्छ, त्यसैले धान रोप्नका लागि कराकर छ” विश्वकर्माले भन्नुभयो, “कोरोनाको डरले काम नगरेर पनि भएन, पेट पाल्नकै लागि भए पनि काम गर्न हिँड्नुप¥यो । अहिले धान रोप्ने समय छ, त्यसैले रोप्न हिँडेका छौँ ।” आफूहरुले ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाले कोरोनाको प्रवाह नगरी अरुको धान रोप्न हिँडेको विश्वकर्माको भनाइ छ ।
“मेरो पनि अलिकति धान रोप्ने खेत छ, हिजोआज पर्म गर्नका लागि कोही पाइँदैनन्” विश्वकर्माले भन्नुभयो, “आफू पनि अरुको खेतमा काम घण्टाको हिसाबले काम गर्छु र ज्याला लिन्छु र आफ्नोमा पर्दा पनि घण्टाको हिसाबमा काममा लगाउने गरिएको छ ।” धान रोप्न गएवापत आफूहरुले घण्टाको रु १२० पाउने उल्लेख गर्दै अरुलाई काममा लगाउँदा पनि सोही रकम दिनुपर्ने विश्वकर्माको भनाइ छ । असार लागेसँगै मेलापात गर्नका लागि आफूहरु समूह बनाएरै हिँड्ने गरेको विश्वकर्माले बताउनुभयो ।
मध्यविन्दु–३ को ब्रम्हस्थानका किसान मङ्गुराम बोटेले गाउँमा कोरोनाको खासै त्रास नभएका कारण पनि आफूहरुले धान रोपाइँ शुरु गरेको बताउनुभयो । “मेरो धान रोप्ने खेतमा जोत्नका लागि ट्याक्टर तथा हलो प्रयोग गर्न मिल्दैन, खेतमा मान्छे जाँदा समेत घुँडाभन्दा बढी भासिन्छ” बोटेले भन्नुभयो, “खेतमा भासिदै फरुवाले खन्ने अनि रोपाहारहरु पनि भासिएरै रोप्ने काम हुन्छ ।” सिमसार क्षेत्रजस्तै भएकाले आफ्नो खेतमा बाह्रै महिना पानीको सुविधा हुँदा दुई बाली धान लगाउने गरेको बोटेले बताउनुभयो ।
“चैते धान काट्ने बेलामा पनि कोरोनालाई कारण बनाउँदै निषेधाज्ञा भइरहेको थियो, तर खेतालाहरु खोजेर धान काटेर स्याहारिसकेँ” बोटेले भन्नुभयो, “अब वर्षे धान रोप्ने बेला हुँदा पनि कोरोनाले छोडेन, निषेधाज्ञा भइरहेको छ । असारमा धान नरोपे वर्षभरी के खाने ?” रोग र भोकको चेपुवामा जनताहरु परेका कारण पनि रोगभन्दा भोक ठूलो भएकाले आफूहरु धान रोप्नतर्फ लागेको बोटेको भनाइ छ । धान रोप्ने क्रममा स्वास्थ्य मापदण्डहरु अपनाउन कठिन हुनेसमेत बोटेले बताउनुभयो ।
“गाउँमा कसैले पनि सुरक्षाका मापदण्ड पूरा गरेको देखिँदैन” बोटेले भन्नुभयो, “झन् धान रोप्ने बेलामा त कसरी अपनाउन सकिन्थ्यो ।” घाम र पानीको प्रवाह नगरी खेत रोप्ने, कोदालो खन्ने काम गर्नुपर्ने हुँदा आफूहरुले स्वास्थ्य मापदण्ड अपनाउन नसकेको बोटेले बताउनुभयो ।
जिल्लामा असारको हालसम्म करिब १५ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख गोपाल लामिछानेले बताउनुभयो । जिल्लामा करिब २० हजार ७३० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने गरेको लामिछानेले बताउनुभयो । जिल्लाको कुल खेतीयोग्य भूमिको करिब ५६ प्रतिशत भागमा सिँचाई सुविधा पुगेकाले समेत समयमा नै वर्षे धान रोपेर सकिने लामिछानेको भनाइ छ । जिल्लामा खेतीयोग्य जमिन ४९ हजार हेक्टर भए पनि अन्य जमिनमा धानबाहेकका बाली लगाइने गरिएको लामिछानेले बताउनुभयो ।