भरतपुर अस्पतालका निमित्त प्रमेसु तिवारीबाट सुरु गरियो कोभिड–१९ विरुद्धको खोप

चितवन, १४ माघ ।
चितवनमा आज (बुधबार)देखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाको भरतपुर सङ्घीय अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले खोप लगाएर कार्यक्रमको सुरुआत गरिएको हो ।
जिल्लामा मंगलबार खोप प्राप्त भएसँगै यहाँको भरतपुर सङ्घीय अस्पताल, रत्ननगर बकुलहर अस्पताल र माडीको बघौडा अस्पतालबाट खोप लगाउन शुरु गरिएको छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप आएसँगै चितवनका विभिन्न तीन वटा केन्द्रबाट खोप लगाउन शुरु गरिएको छ । जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, कोभिडका कारण मृत्युभएको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बताए ।
खोप लगाउँद कुनै घटनामा भएमा त्यसको व्यवस्थापनका लागि एम्बुलेन्स सहित तीन वटा टोली तयारी अवस्थामा राखिएको तिवारीको भनाइ छ । चितवनमा चार हजार ५०० डोज मात्रै खोप प्राप्त भएको तिवारीले बताए । प्राप्त भएको खोपको पाँच प्रतिशत खेर जाने कटाएर करिब चार हजार २०० डोज खोप लगाइने तिवारीको भनाइ छ ।
भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टबाट सुरु गरिएको खोप सुरुमा भरतपुर अस्पतालका स्वास्थ्यकर्मीलाई लगाइने छ । पहिलो चरणको खोप अभियानमा सरकारी अस्पतालका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले लगाएपछि अन्य मेडिकल कलेज र निजी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई लगाइदैछ । भरतपुर अस्पतालमा नौ दिनसम्म खोप लगाइदैछ भने यहाँ भरतपुर र इच्छाकामना गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको खोप लगाइदैछ ।
भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले स्वास्थ्यकर्मीहरुले पहिलो चरणमा खोप लगाएपछि बिरामीहरुको उपचारमा खटिन सहज हुने बताए । स्वास्थ्यकर्मीहरुले खोप लगाएपछि सर्वसाधारणहरु समेत खोपप्रति विश्वस्त हुन सक्ने तिवारीले बताए ।
भरतपुर अस्पतालबाट भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका, रत्ननगरबाट पूर्वी चितवनका चार नगरपालिका तथा माडीमा माडी नगरपालिकाका स्वास्थ्यकर्मीलाई खोप लगाइने अनपेक्षित घटना व्यवस्थापन समितिका संयोजक डा युवानीति बसौलाले बताए । गर्भवती, सुत्केरी तथा रगत बग्ने समस्या भएका व्यक्ति बाहेक सबैले खोप लगाउनु आवश्यक रहेको बसौलाको भनाइ छ । पहिलो चरणमा फन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिइसकेपछि दोस्रो चरणबाट प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाइने उनले बताए ।
जिल्लामा पहिलो चरणका लागि ६ हजार २०० डोज खोप माग गरिएको थियो । पहिलो चरणमा भरतपुरमा मात्रै ४ हजार, रत्ननगरमा करिब २ हजार ५० तथा माडीमा एक सय ५० डोज खोप आवश्यक भएपनि अहिले उपलब्ध खोप लगाउँदै जाने र अन्य अपुग खोप माग गरिएको छ ।
प्रथम चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सुभारम्भ समारोहको अध्यक्ष भरतपुर अस्पताल विकास समितका अध्यक्ष डा भोजराज अधिकारीले गरेका थिए भने कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रदेशसभा सदस्य विजय सुवेदीलगायतले मन्तव्य राखेका थिए ।