सवोच्चका चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौँ, १४ माघ ।

सवोच्चका चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

बुधबार अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले अदालतलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको भन्दै अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो ।

अधिवक्ता भट्टराईले संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दा सुनुवाई भइरहेका बेला त्यसलाई प्रभावित पार्ने उदेश्यले दबाब दिइएको आरोप लगाएका छन् ।

केही समय अगाडि चार जना पूर्वप्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक भएको बताउँदै अदालते उक्त निर्णय बदर गर्नुपर्ने माग गरेका थिए ।

‘प्रतिनिधिसभा विघटनले देशको संवैधानिक पद्धतिको कार्यान्वयन, राजनीतिक स्थात्वि, सुशासन र विकास वातावरणमा अनपेक्षित रुपमा प्रतिकूल प्रभावहरु परेको हामी महसुस गर्दछौं’, उनीहरुले भनेका थिए, ‘धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी संसद विघटन गरिएको पाइएको छ ।’