रत्ननगरमा समेत कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउन सुरु

चितवन , १४ माघ।
पूर्वीचितवनको रत्ननगरमा समेत कोभिड १९(कोरोना भाइरस) विरुद्धको भ्याक्सिन लागउन सुरु गरिएको छ । रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा आजबाट कोरोना विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी , स्वास्थ्य स्वयम्सेविका , एम्बुलेन्स चालक र सफाईकर्मीहरुलाई खोप लगाउने कार्यक्रम अन्तर्गत आज रत्ननगरमा खोप लगाउन सुरु गरिएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए । पूर्वीचितवनको रत्ननगर , खैरहनी र कालिका र राप्ती नगरपालिकाभित्रका स्वास्थ्यकर्मी , स्वास्थ्य स्वयम्सेविका , एम्बुलेन्स चालक र सफाईकर्मीहरुलाई रत्ननगरमा खोप लगाइने पौडेलले बताए । बुधवार र विहिबार रत्ननगर र खैरहनी नगरपालिका स्वास्थ्यकर्मीलाई खोप लगाउने तालिका रहेको छ । त्यस्तै कालिका र राप्तीका स्वास्थ्यकर्मीलाई शुक्रबार र शनिबार खोप लागाइने छ ।

रत्ननगर नगरपालिकाकी उप मेयर बिमलादेवी दुवाडीले खोप हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ भएको थियो । उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ( मेसु ) विश्वबन्धु बगालेले खोपको बारेमा नकारात्मक हल्ला चलेकाले त्यसको विश्वास नगर्न आग्रह समेत गरे । जनमानसमा अहिलेको खोप सुरक्षित छैन , परिक्षण गर्न नेपाल ल्याइएको जस्ता नकारात्मक हल्ला रहेकाले त्यस्तो हल्ला गलत भएको र धेरै खोज , अनुसन्धान र परिक्षण पश्चिात्मात्रै नेपाल आएको भन्दै विश्वस्त भएर खोप लगाउन आग्रह समेत गरे । रत्ननगरमा अस्पतालमा हाल ४ सय ९० जनाको लागि खोप आएको अस्पतालका मेसु बगालेले जानकारी दिए ।