चितवनमा कृषि गणनाको तयारी

चितवन, १४ माघ ।
हरेक १० वर्षमा हुँदै आएको राष्ट्रिय कृषि गणनाको तयारी चितवनमा सुरु गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ गरिएको ६ महिनापछि २०७८ पुसबाट फागुनसम्म चितवनमा कृषि गणना गरिने तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीले बताए । नमूना छनौट विधिबाट हुने कृषि गणनाले क्षेत्रफलका आधारमा हुने उत्पादनको तथ्याङ्क सङ्कलन गरिने भण्डारीको भनाइ छ । हिमाल र पहाडी जिल्लामा चार आना तथा तराईमा आठ धुर क्षेत्रफलमा खेती गरिएको स्थानलाई गणनामा समावेश गरिने बुधबार आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा जानकारी दिइएको थियो ।
यस पटक हुने कृषि गणनाले स्थानीय तहको नतिजा समेत निकाल्ने भएकाले कृषि नीति बनाउन, योजना तर्जुमा गर्न समेत सहयोग पु¥याउने भण्डारीको भनाइ छ । विगतका गणनाहरुमा जिल्ला स्तरको मात्रै नजिता निकाल्ने गरिन्थ्यो । सङ्घीयता कार्यान्वयन गर्नका लागि समेत कृषि तथ्याङ्कले महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको भनाइ छ ।
प्रति घर कम्तिमा एउटा गाई वा भैँसी, पाँच वटा भेँडा बाख्रा, २० बन्दा बढी पक्षीहरु पालेको भए राष्ट्रिय कृषि गणनामा समेटिने भण्डारीको भनाइ थियो । कृषि गणनाले महिलाको नाममा जग्गाको अवस्था, कृषि बिमा तथा सरकारी अनुदान, जलवायु परिवर्तनको असरले कृषिमा पु¥याएको असर, बालीमा विषादीको प्रकारअनुसार प्रयोगलगायतका विषयलाई समेत समेट्ने जनाइएको छ । नेपालको कुल ग्राहस्थ उत्पादनको २७ प्रतिशत हिस्सा कृषिले समेटेको छ ।
कृषि गणनाका क्रममा प्रश्नावली विधि र कम्प्युटर विधि प्रयोग हुने भन्दै भण्डारीले देशका ७७ वटै जिल्लामा कृषि गणनाका लागि कार्यालय स्थापना हुने जानकारी दिए । कृषि गणनाका लागि ७७ जना कृषि गणना अधिकृत, करिब एक हजार ५०० सुपरिवेक्षक र करिब ६ हजार गणक परिचान हुने भण्डारीको भनाइ छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कृषि गणना समन्वय समिति गठन भएर काम सुरु हुने उनको भनाइ छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सहभागी विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा पत्रकारहरुले कृषि गणनाको बारेमा जिज्ञासा राख्दै सुझाव दिएका थिए ।