भरतपुर २९ मा पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा

चितवन, १५ फागुन ।
भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले समाज रुपान्तरणमा गैर सरकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २९ को कमलपुरमा पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा कार्यक्रममा उपप्रमुख शाहले गैर सरकारी संस्थाले गाउँघरमा चेतना जगाउने कार्यको प्रशंसा गरिन् ।
पूर्ण सरसफाइ गाउँ घोषणा गर्दै उपप्रमुख शाहले कमलपुर गाउँ सुन्दर र सफा बनेकोमा खुसी व्यक्त गरिन् । यसलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । चितवन जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा भए पनि कतिपय ठाउँमा अझै शौचालय र पानीको उचित प्रवन्ध गर्न नसक्दा गाउको जनजीवन कष्टकर बनेको शाहले बताइन् । विसं २०७२ सालमा आएको भूकम्पले यस गाउँको पानीको मुहान सुकेपछि यस क्षेत्रका मानिसले धेरै दुख पाएका थिए ।
नेपाल ग्रामीण पुनःनिर्माण संस्था आरआरएनको प्राविधिक तथा आर्थिक सहयोगमा खानेपानीको उचित प्रबन्ध गरिएको छ । कमलपुर गाउँ निरीक्षण गर्दै उनले आमा समूह सक्रिय बनेकोमा खुसी व्यक्त गरिन् । उपप्रमुख शाहले यस क्षेत्रमा पानीको पहुँच बढाउन भरतपुर महानगरले अपलिफ्टिङ गरेर पानी ल्याउने योजना रहेको बताइन् । भरतपुर महानगरपालिको दुई करोड रुपैयाँ, प्रदेश सरकारको पचास लाख रुपैयाँ तथा वडा नं २९ को तीन लाख रुपैयाँको लगानीमा पानी ल्याउने योजना रहेको र यो ६ महिना भित्रमा पूरा हुने आश्वासन समेत दिइन् ।
सो गाउँका ३२ घरधुरी सुरक्षित खानेपानी पिउन पाएपछि लाभान्वित भएका छन् । शुक्रबार आयोजित घोषणा कार्यक्रममा नेपाल ग्रामीण पुनःनिर्माण संस्था आरआरएनका प्रोग्राम म्यानेजर निराजन पोखरेलले नेपाल सरकारको निर्देशिका वमोजिम सरसफाइका सम्पूर्ण सूचकहरु पुरा गरिएको बताइन् । उनले कमलपुर टोलमा खानेपानी परियोजना निर्माण गर्नको लागि आर्थिक तथा प्राविधिक सहयोग गरिएको जानकारी दिइन् ।
अहिले सबैका घरमा शौचालय बनेका छन् । भाँडा माझेर सुकाउने ठाउँ बनाइएका छन् । फोहोेर फाल्ने खाल्टा बनाइएका छन् भने प्रत्येक साता गाउँ सरसफाइ गर्ने गरिएको छ । कार्यक्रम वडा नं २९ का वडा अध्यक्ष मनबहादुर मगरको अध्यक्षतामा भएको हो ।