उद्योग धन्दाबाट मात्रै समृद्ध राष्ट्र निर्माण हुन्छः रजिष्ट्रार अधिकारी

चितवन, १५ फागुन ।
कम्पनी रजिष्ट्रारको कार्यालयका प्रमुख रजिष्ट्रार प्रदीपराज अधिकारीले उद्योग धन्दाको सञ्चालनबाट मात्रै समृद्धि राष्ट्र निर्माण हुने बताएका छन् ।
पछिल्लो समय समाजमा जागिरे मानसिकता बढेको भन्दै उहाँले जागिर खाएर समृद्ध नेपाल निर्माण हुन नसक्ने बताएका हुन् । शनिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै रजिष्ट्रार अधिकारीले कम्पनी शिक्षाको अभाव देखिएको बताए । कार्यालयले मुलुकको ७७ वटै जिल्लाका शैक्षिक संस्थाहरुसँग सहकार्य गरेर कम्पनी शिक्षाको अभियान सञ्चालन गरिने बताए ।
एउटा अभिभावकले परिवार बनाएको जस्तै उद्योगीले पनि देश बनाउने भन्दै उनले हरेक युवालाई कम्पनी सञ्चालन गर्न प्रेरित गर्नुपर्ने बताए । पछिल्लो समय वैदेशिक अध्ययन, रोजगारीका लागि लगानी गर्ने अभिभावकले आफ्नो सन्तानलाई उद्यमी बन्नका लागि लगानी नगरेको भन्दै उनले उद्यम गर्न चाहने व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
उद्यमी बन्नका लागि कम्पनी दर्ता गरेर काम गर्नुपर्ने भन्दै अधिकारीले नेपालमा कम्पनी सम्बन्धि ज्ञानमा कमी भएको बताएका छन् । एक्लैले व्यवसाय सुरु गर्दा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेरै सञ्चालन गर्दा राम्रो हुने उल्लेख गर्दै अधिकारीले समूहमा काम गर्दा भने कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्दा सहज हुने बताए । कम्पनी दर्ता गर्ने क्रम बढेको भन्दै उनले दर्ता भएको कम्पनीको नियमित अद्यावधिक गरेर जरिवाना तिर्नबाट जोगिन समेत आग्रह गरेका छन् ।
‘अघिल्लो वर्षको १२ महिनामा दर्ता भएको कम्पनी भन्दा यस वर्षको सात महिनामा धेरै कम्पनी दर्ता भएका छन्’ अधिकारीले भने, ‘गत आर्थिक वर्षमा १८ हजार कम्पनी दर्ता भएकोमा यस वर्ष २५ हजार भन्दा बढी पुग्ने देखिएको छ ।’ कम्पनी दर्ता तथा जरिवानाबाट अघिल्लो वर्ष ६५ करोड रुपैयाँ राजस्व संकलन भएको भन्दै उनले यस वर्ष हालसम्म ६० करोड रुपैयाँ राजस्व संकलन भइसकेको जानकारी दिए । नेपालमा हालसम्म दुई लाख ५४ हजार ३०० भन्दा बढी कम्पनी दर्ता भइसकेका अधिकारीको भनाइ थियो ।