दलहरुबीच सहमति हुन्छ : सभामुख सापकोटा

चितवन, १५ फागुन ।
सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् ।
शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताए । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरेका छन् । अब दलहरुबीच छलफल र समझदारी भएर पहिलकोे जसरी नै संसद् चल्ने उनको भनाइ छ ।
राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ । राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनले बताए । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया नरोकिने उनको भनाइ छ । संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले बताए ।