अन्तर्राष्ट्रिय भेट्रानको उपाधि कालभैरव हेटौँडालाई

चितवन, १५ फागुन ।
चितवनको भरतपुरमा सञ्चालित दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको उपाधि हेटौँडको कालभैरव भेट्रानले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा बुटवल भेट्रानलाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो । टाइब्रेकरमा कालभैरव हेटौँडा ४–२ ले विजयी भएको हो । कालभैरवलाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको २ प्रहार बताए ।
उनले दोस्रो र चौथो प्रहार रोके । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४औँ मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफमा नै कालभैरव खेलमा फर्कियो । पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरवका लागि बराबरी गोल गरे । उपाधिसँगै कालभैरवले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेत बनेको बुटवलले ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
कालभैरव हेटौँडाका नरेश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै चितवन भेट्रान रातोका रवीन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ७ गोल गरेका थिए । कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बु उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिडफिल्डर घोषित हुँदै नगद ५/५ हजार रुपैयाँ प्राप्त गरे । चितवन भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए ।