पछिल्लो २४ घण्टा बेलायतमा डेल्टा भेरियन्टको १८ हजार नयाँ संक्रमित थपिए
एजेन्सी, १३ आषाढ ।
बेलायत (संयुक्त अधिराज्य) मा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टका कारण कोभिड-१९ का बिरामी ह्वात्तै बढेका छन् । शनिबार फेब्रुअरी ५ यताकै धेरै संक्रमित थपिएको बेलायती समाचार माध्यमले जनाएका छन् ।
शनिबार बेलायतमा १८ हजार २७० जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या फेब्रुअरी ५ तारिख यताकै उच्च हो । त्यस्तै शनिबार (पछिल्लो २४ घण्टा) मा कोरोना भाइरसबाट २३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
पछिल्लो विवरणसँगै लगातार ३ दिनसम्म दैनिक संक्रमितको संख्या १५ हजारभन्दा बढी पुष्टि भएको छ भने हरेक हप्ता ५४.४ प्रतिशतका दरले संक्रमणमा वृद्धि भइरहेको छ । त्यस्तै पछिल्लो समय संक्रमणबाट हुने मृत्यु दर ६१ प्रतिशतले बढिरहेको देखिन्छ ।
तर तीव्र खोप अभियानले गर्दा अस्पताल भर्ना हुने र ज्यान गुमाउनको संख्या कमै देखिन्छ । पछिल्लो पटक मापन गरिएको ६१ प्रतिशतको मृत्यु दर पहिलो र दोस्रो लहरको भन्दा निकै थोरै हो ।
सुरुमा भारतमा फेला परेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टका कारण दैनिक संक्रमितको संख्या एक्कासि बढ्न थालेको हो । पछिल्लो हप्ता डेल्टा भेरियन्टका बिरामी ४६ प्रतिशतले बढेर ३५ हजार २०४ पुगेका छन् ।
बेलायती अधिकारीका अनुसार शनिबारसम्म डेल्टा भेरियन्टबाट १ लाख ११ हजार १५७ जना संक्रमित भएका छन् । यसमध्ये सबैभन्दा धेरै इङल्याण्डमा छन् । इङल्याण्डमा अहिलेसम्म १ लाख २ हजार १९ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । त्यस्तै, स्कटल्याण्डमा ७ हजार ७३८, वेल्समा ७८८ र उत्तरी आयरल्याण्डमा ६१२ जना यो भेरियन्टबाट संक्रमित भएका छन् ।
नयाँ भेरियन्टका कारण संक्रमण फैलिन थालेपछि जुलाई १९ देखि इङल्याण्डमा लकडाउन पूर्ण हटाउने योजना केही ढिलाइ हुन सक्ने देखिन्छ ।
पछिल्लो आंकडासँगै बेलायतका हालसम्म कुल ४७ लाख १७ हजा ८११ जनामा कोभिड-१९ पुष्टि भएको छ । त्यस्तै कोरोना महामारी सुरु भएयता १ लाख २८ हजार ८९ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म बेलायतमा कोरोना खोपको पहिलो डोज लगाउनेको संख्या ४ करोड ४० लाख र दोस्रो डोज लगाउनेको संख्या ३ करोड २० लाख पुगेको छ । खोपका कारण पछिल्लो कोरोना लहरबाट मृत्यु हुने र अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य रुपमा घट्ने अपेक्षा समेत गरिएको छ ।