नारायणगढ लेडी जेसीजद्वारा रजत जयन्तीका कार्यक्रम सार्वजनिक
भरतपुर, १३ असार।
नारायणगढ लेडी जेसीजले रजत जयन्ती मनाउने भएको छ । आइतबार भर्चुअल पत्रकार सम्मेलन गर्दै असार १५ गतेदेखि रजत जयन्तीका कार्यक्रम सुरु हुने जनाएको छ ।२५ वर्षमा प्रवेश गरेको अवसर पारेर विविध कार्यक्रम गर्न लागिएको हो । रजत महोत्सवका मूल संयोजक तथा संरक्षक विश्व शान्ति पियाले भर्चुअलरुपमै कार्यक्रमको समुद्घाटन गरिने बताइन् । सन् १९९६ मा सम्पन्न २३ औँ राष्ट्रिय महाधिवेशनमा नारायणगढ जेसीजको मातृत्वमा नारायणगढ लेडी जेसीज स्थापना भएको थियो ।
रजत जयन्तीको अवसर पारेर ११ वटा कार्यक्रम गर्ने जनाइएको छ । महिलालाई लक्षित गरेर साइबर क्राइम विरुद्धको चेतनामुलक कार्यक्रम, लैंगिक हिंसा विरुद्धको कार्यक्रम, तालिम सञ्चालन हुनेछन् । यस्तै गरिव तथा विपन्न परिवार लक्षित राहत वितरण, भोजन खुवाउने कार्यक्रम हुनेछन् । यस्तै संस्थापक सदस्यहरुलाई र सामाजिक अभियान्ताहरुलाई सम्मान कार्यक्रम, दीप प्रज्वलन लगायतका कार्यक्रम गरिने जनाइएको । “केही कार्यक्रम भर्चुअलनै हुनेछन्, केही लकडाउन खुलेपछि हुनेछन्”, पियाले भनिन्, “पछि कोभिडको अवस्था समान्य भएमा हाम्रा कार्यक्रम भौतिक रुपमै हुनेछन् ।”
उनले कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गरेरै गते सहितको कार्यक्रम तालिका नबनाइएको बताइन् । अध्यक्ष सम्झना प्रधानले करिब १ महिनामा सबै कार्यक्रम समापन गर्ने लक्ष्य रहेको बताइन् । उनका अनुसार भर्चुअल गर्न नसकिने केही कार्यक्रमलाई सामाजिक तथा भौतिक दुरी कायम गरेर जनस्वास्थ्यका मापदण्ड पालना गरि सम्पन्न गर्ने योजना छ । यो जेसीजले लेडी एकेडेमी, लोम नोम लिडर्स एकेडेमी, क्षेत्र ख सम्मेलन लगायतका कार्यक्रम सफल पारिसकेको छ । सामाजिक सेवामा सक्रिय नारायणगढ लेडी जेसीज सन् २०१६ देखि आफ्नै भवनमा सञ्चालित छ । रजत महोत्सवका सहसंयोजक पूर्णिमा श्रेष्ठले रजत महोत्सवलाई जुम, गुगल मिट, म्यासेन्जर, भाइबार लगायतका माध्यमबाट अधिकाँस कार्यक्रम हुने बताइन् । लकडाउनका बेलामा समेत यो जेसीज सामाजिक काममा सक्रिय बनेको छ ।