सवारी लाइसेन्स प्राप्त गर्न साउनबाट यस्तो व्यवस्था
काठमाडौँ,१३ असार । ।
सरकारले सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने अहिलेको व्यवस्था हटाइएको छ । नयाँ व्यवस्था अनुसार साउन १ गतेबाट दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइनेछ ।
यातायात विभागका अनुसार परीक्षण लाइसेन्स पाएको व्यक्तिले तोकिएको समयावधिभित्र पाँचपटकसम्म नियम उल्लंघन गरेमा पुनः नयाँ परीक्षा दिनुपर्नेछ । परीक्षण लाइसेन्सको रूपमा अहिले प्रयोग भइरहेको स्मार्ट लाइसेन्स दिइनेछ । तर, त्यसमा चिप्स भने हुनेछैन । त्यस्तै, साउनदेखि नै चालक अनुमतिपत्र प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक र लिखित परीक्षाको ढाँचामा पनि परिवर्तन गरेको छ ।
यसअघि शतप्रतिशत पास गर्नुपर्ने ट्रायल परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य मानिने भएको छ । तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षा भने अब पास हुन ८० अंक ल्याउनुपर्नेछ । अहिले प्रयोगात्मक परीक्षामा पास हुन सय अंकमा सय नै ल्याउनुपर्ने व्यवस्था छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी कार्यविधि निर्देशिका २० चैत २०७७ मा स्वीकृत गरिसकेको छ । कार्यविधि निर्देशिकाअनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि मात्र कार्यान्वयन हुनेछ ।
लिखित परीक्षाका लागि विभागले ५ सय वस्तुगत बहुउत्तर प्रश्नको संग्रह बुधबार सार्वजनिक गरेको छ । विभागले आफ्नै वेबसाइटमार्फत संग्रह सार्वजनिक गरेको हो । त्यही संग्रहबाट मात्र लिखित परीक्षाको प्रश्नपत्र तयार गरिनेछ । लिखित परीक्षा ३० मिनेटको हुनेछ भने विद्युतीय माध्यमबाटसमेत परीक्षा सञ्चालन गर्न सकिनेछ ।
निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले आफैँले सवारीसाधनको व्यवस्था गर्ने व्यवस्था गरिएको छ । तर, तोकिएको निश्चित मापदण्ड भने पूरा गरिनुपर्छ ।