खोप दुरुपयोग भएको भन्दै राष्ट्रिय शक्ति नेपालद्धारा राप्तीमा विरोध प्रदर्शन
चितवन , १३ असार।
पूर्वीचितवनको राप्ती नगरपालिकामा कोभड १९ विरुद्धको खोपको दुरुपयोग भएको भन्दै राष्ट्रिय शक्ति नेपालले आज विरोध जनाएको छ । राप्तीमा लक्षित उमेर समूहको भन्दा बाहिर जनप्रतिनिधिको नातागोता र आफन्तलाई नियमविपरित खोप लगाएको खबर बाहिरिएपछि युवाहरुले आज नगरपालिका गएर विरोध प्रदर्शन गरेका थिए ।
उनीहरुले खोप खोई , खाप आफन्तलाई हो , भेदभाव किन , जनतालाई मुर्गाउने लेखिएको प्ले कार्ड सहित नगरपालिमा प्रदर्शन गरेका थिए । खोपमा भएको मनपरीको बिषयमा नगर प्रमुखसँग जवाफमाग्न गएको राष्ट्रिय शक्ति नेपालको जिल्ला सचिव विशाल डल्लाकोटी नेतृत्वको टोलीले मेयर , उपमेयर र प्रमुख प्रशासकिय अधिकृत कोहिपनी कार्यालयमा नभेटेपछि प्रमुख र उप प्रमुखको ढोकामा ‘जनता मुर्गाउने ’ लेखिएको कागज राखेका थिए ।
नगर प्रमुख प्रभा बराल र प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर भुजेल योजना अनुगमनमा गएको र उप प्रमुख इमानसिंह लामा बिरामी लिएर अस्पताल गएको कारण नगरपालिकामा अनुपस्थित भएको नगरपालिकाकी प्रशासकिय अधिकृत शारदा शर्माले जानकारी दिइन् ।