माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने प्रचण्ड-नेपाल समूहको निर्णय

काठमाडौं,१५ माघ ।

प्रतिनिधि सभा विघटनविरुद्ध  नेकपाको प्रचण्ड–माधव समूहले माघ २८ गते अहिलेसम्मकै विशाल  प्रदर्शन गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले प्रतिगमनका विरुद्ध २८ गते काठमाडौँमा विशाल जनसभाको आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि माघ ९ गते उक्त समूहले काठमाडौँ उपत्यकामा विशाल विरोध सभा गरेको थियो ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेका बताएका थिए ।

बैठकमा अध्यक्षले संविधान भत्काएर ओलीले चाल्ने जुनसुकै तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव समूहले सडक संघर्ष गरिरहेको छ ।